टोकियो । नुवाकोट समाज जापानले गतबर्ष जस्तै यस बर्ष पनि ‘वनभोज एवं भेटघाट(बार्बिक्यु)कार्यक्रम’आयोजना गर्ने भएको छ। जापानमा विभिन्न संघसंस्थाहरूले यस्ता कार्यक्रमहरूको आयोजना गर्ने गरेका छन्।
सोही क्रममा नुवाकोट समाजले आगामी जुलाई १३ तारिक आइतबार चिबाको इचिकावास्थित साकुराचुसुमी पार्कमा ‘वनभोज एवं भेटघाट(बार्बिक्यु)कार्यक्रम’ आयोजना गर्न लागेको हो।
कार्यक्रममा सयौंको संख्यामा नुवाकोट जिल्लामा जन्मिएर जापानलाई कर्मभूमि बनाईरहेका नुवाकोटबासीहरू र अन्य जिल्लाबाट आएका नेपालीहरूको समेत उपस्थित रहने अपेक्षा गरिएको कार्यक्रम संयोजक एवं समाजका सचिव डेविड भट्टराईले बताए।
भट्टराईले कार्यक्रमको प्रचार-प्रसार लगायत प्रारम्भिक तयारी पुरा भएको पनि जनाए । कार्यक्रममा काँठक्षेत्रका कलाकार हरिजंग पाण्डेसहितको सहभागितामा भव्य सांस्कृतिक माहोल समेत हुनेछ।
काँठक्षेत्रको लोक तथा दोहोरीलगायत सांस्कृतिक केन्द्रको रूपमा परिचित नुवाकोट जिल्लालाई जापानबासी नेपालीहरूमा थप परिचित गराउने अवसरको रूपमा समेत सदुपयोग गरिने उनले बताए।
ठुलो संख्यामा उपस्थिति रहने अनुमानसँगै तयारी पनि त्यहि ढंगले गरिने भन्दै नुवाकोट जिल्लाबाट आएका र सम्पूर्ण जापानबासी नेपालीहरूलाई कार्यक्रममा सहभागी भई भरपुर मनोरञ्जन लिन समेत अनुरोध गरिएको छ।

