काठमाडौं । कैलाली कारागारका कैदीको मृत्यु भएको घटनामा नेपाल प्रहरीका एकजना प्रहरी नायब निरीक्षक (सई)लाई पक्राउ परेका छन् । सई हरजित नाथ पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार सिंहले डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिशसिंह पालीको मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत सई नाथविरुद्ध जोहरी परेपछि अनुसन्धानका लागि उनलाई पक्राउ गर्नुपरेको बताए ।
‘पक्राउ गरेर उहाँ (सई नाथ)लाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उहाँमाथि अनुसन्धान भइरहेको छ,’ डीएसपी सिंहले भने ।
सई नाथ मृतक पाली प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दाका वादीसमेत हुन् । नाथले नै हालेकाे मुद्दामा आधारमा पालीलाई कैलाली जिल्ला अदालतले २०८० सालको फागुनमा १० दिन कैद र दुई लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
मृतककी श्रीमती जानकी साउदले नाथकै योजनामा कारागारभित्र कुटपिट गरि श्रीमानको हत्या गरिएको आरोप लगाउदै बुधबार कारागार प्रमुख वसन्तबहादुर खत्रीसहितका पाँच जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।
तर कैलाली प्रहरीले उनलाई जाहेरी सच्याएर ल्याउन भनेपछि बिहीबार भने नाथविरुद्ध मात्र जाहेरी दिएको बताइएको छ ।
पाली गत जेठ २ गते राति कारागारकाे बाथरुमनजिकै अचेत अवस्थामा भेटिएका थिए । तत्काल सेती प्रादेशिक अस्पताल लगिएकोमा सोही राति उनको मृत्यु भएको थियो ।
मृतक पालीका शरीरमा चोटपटक समेत देखिएका कारण परिवारले उनको योजनाबद्ध हत्या गरेको आशंकासहित उजुरी दिएको हो ।
