काठमाडौं । सपना थियो— छोरीको बिहे धूमधामले गर्ने, छोराहरूलाई राम्रो शिक्षा दिने, अनि परिवारलाई सुख दिने । तर, जिन्दगीले सपनाको त्यो रङ देखाउन त सकेन, बरु बाँच्नै कठिन ‘ऋणको पहाड’ बोकाई दियो ।
सिरहाको विष्णुपुर गाउँपालिका–३ कौवाहाकी ४१ वर्षीया सीता अहिले जिन्दगीको यस्तो मोडमा उभिएकी छिन्, जहाँ न त सास फेर्न सजिलो छ, न आँसु रोक्न ।
घरमा दुई छोराको पढाइ खर्च, छोरी प्रतिभाको विवाह (चार वर्षअघि) र सासुआमाको किरियामा लागेको १५ लाख रुपैयाँभन्दा बढि ऋणको भारी अनि त्यसमाथि साउदी अरबमा अलपत्र श्रीमान् । सीताको संसार अहिले यिनै बोझले थिचिएको छ ।
१० वर्षअघि कमाउने सपना बोकेर साउदी अरब गएका सिताका श्रीमान विशेश्वर यादव, आज परदेशमै बन्दी बनेका छन् । सुरुमा पैसा पठाउँथे, घर बनाए, खेत जोडे । तर, नियति उल्टियो ।
पछिल्लो समय कम्पनीले तलब दिन छाड्यो, भिसाको म्याद सकियो, र उनी पराइको सहारामा बस्न बाध्य भए । आज उनको अवस्था यस्तो आयो– न घर फर्कन सक्छन, न त आफनो कमाईले पेट पालेर बस्न सक्छन् ।
विशेश्वरले साउदीको रियादस्थित एसएमजी कम्पनीमा सुरुमा राम्रै काम गरे । जाने–आउने चलिरहन्थ्यो । तर यो पटक समयले साथ दिएन । तलब आउने त परै जाओस्, खानलाई पनि गाह्रो भयो ।
अहिले उनी भाइ रामचन्द्र यादवको डेरामा सहारा मागेर बसिरहेका छन् । घरमा छोरा प्रमित र प्रविण बाबु फर्कने आसामा छन्, सीता देवी रातभर प्रार्थना गर्दै बस्छिन् ।
सुरुमा कम्पनीले राम्रै तलब दिने गरेपनि पछिल्लो समय पैसा दिन छाड्यो । मजदूर कोर्टमा मुद्दा हाल्दा झन् तलब नै बन्द गरिदियो । नेपाली दूतावासमा गुहार माग्दा पनि सुनुवाइ भएन । अब विशेश्वरसँग न भिसा छ, न बाटो, न आशा ।
यता, विशेश्वरकी आमा भाल्सरदेवीको एउटा मात्रै धोको थियो— छोरा फर्किएको मुख हेर्ने । त्यो धोको अधुरै रह्यो । तर, छोरो खोज्दै उनले संसार छाडिन । तीन वर्षअघि (प्रतिभाको विवाह भएको एक वर्षपछि) उनको निधन भयो ।
उसो त सीताले श्रीमान् फर्काउन पहल नगरेकी पनि होइनन् । गाउँका नेताहरूसँग कति पटक गुहार मागिन् । सुरुमा आश्वासन दिए पछि नेताहरूको जवाफ थियो— ‘अव हामीबाट केही हुँदैन ।’
वडासदस्य निर्मला यादव भन्छिन्, ‘हामीले स्थानीय स्तरबाट सक्दो पहल ग¥यौं । तर फर्काउन सकिएन । अब सबै मिलेर सीताको उद्धार गर्नु जरुरी छ ।’ सीतासँग अब प्रश्नमाथि प्रश्न मात्रै बाँकी छन् ‘श्रीमानलाई कसरी फर्काउने ? कसरी ऋण तिर्ने ? छोराहरूलाई कसरी पढाउने ?’
यही चिन्ताले उनलाई रातभर निद्रा लाग्न छोडेको छ । कहिलेकाँही त सोच्दासोच्दै छर्लङ्ग उज्यालो हुन्छ । तर, उनीसँग कुनै पनि प्रश्नको उत्तर छैन ।
यो एउटा परिवारको कथा होइन, यो हजारौं परदेशी र तिनको आशामा बाँचेका नेपालीहरूको कथा हो । अहिले पनि विशेश्वर जस्ता कयौं युवा विदेशमा अलपत्र छन् ।
