काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले भिजिट भिसा प्रकरणमा रास्वपाले सरकारसँग उधारो सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।
शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै वाग्लेले आफ्नो पार्टीले सरकारसँग उधारो सम्झौता नगर्ने स्पष्ट पारेका हुन् । उनले आफ्नो पार्टी राजनीतिमा नयाँ भएको तर बेकुफ नभएको उल्लेख गरे ।
उनले भने, ‘सरकार र माओवादी केन्द्रबीच भएको सहमतिमा छानबिन गर्ने समयसीमा पनि छैन । कार्यादेश के होरु कहिले सम्पन्न गर्ने होरु यस्तो उदारो सम्झौतामा राष्ट्रिय स्वतन्त्र पार्टी सहमतिमा आउँदैन । हाम्रो पार्टी राजनीतिमा नयाँ छ तर बेकुफ छैन । त्यही भएर यस्तो उधारो र कमिटमेन्ट नभएको सम्झौतामा हामी सहभागि हुनसक्ने कुनै गुञ्जायस थिएन ।’
उनले सरकारको नियत ठिक नभएकै कारण रास्वपाको पाँच बुँदे प्रश्तावमाथि छलफल नगरेको समेत आरोप लगाए । उनले भिजिट भिसा प्रकरणको समस्या समाधान गर्नको लागि संसदीय छानबिन आयोग वा न्यायिक आयोग गठन हुनुपर्ने आफूहरुको अडान कायमै रहेको उल्लेख गर्दै संघर्ष नछाड्ने जिकिर गरे ।
