काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्बपति व्यवसायी एलन मस्कसँगको सम्बन्ध अन्त्य भएको बताएका छन् । शनिबार एनबीसी न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले सो कुरा बताएका हुन् ।
अन्तर्वार्तामा ट्रम्पलाई मस्कसँगको सम्बन्ध समाप्त भएको हो भन्ने प्रश्न गरियो, उनले भने, ‘म अनुमान गर्छु, हो । ’ जब उनलाई ‘के तपाईं बिग्रिएको सम्बन्ध सुधार्ने इच्छा राख्नुहुन्छ ?’ भनेर सोधियो, उनले संक्षिप्तमा भने, ‘अहँ ।’
ट्रम्प र मस्कबिचको सम्बन्ध बिग्रिएको कुरा सामाजिक सञ्जालमा सार्वजनिक विवादपछि आएको हो । जबकी व्यवसायी मस्कले ट्रम्पको निर्वाचन अभियानमा लाखौँ डलर दान गरेका थिए र ट्रम्पको विजय पश्चात उनी ह्वाइट हाउसको एक सल्लाहकारसमेत बनेका थिए ।
ट्रम्पको कर र खर्चसम्बन्धी विधेयकको मस्कले सार्वजनिक आलोचना गरेपछि उनीहरुबिचको विवाद चर्किएको हो । उक्त विधेयक ट्रम्पको प्रमुख घरेलु नीतिमा पर्छ । अधिकांश रिपब्लिकन नेताहरू राष्ट्रपति ट्रम्पको पक्षमा उभिएका छन्।
उपराष्ट्रपति जेडी भान्सले मस्क ‘एकदमै जङ्गी शैलीमा’ उत्रिएको बताउँदै, अब मस्कलाई पार्टीमा स्वागत नगरिने बताएका छन् । पोडकास्टर थियो भोनसँग उनले भने, ‘ट्रम्पको ‘बिग ब्युटिफुल बिल’ को आलोचना गर्नु मस्कको ठुलो गल्ती थियो ।’
केही सातादेखि मस्कले सो विधेयकको आलोचना गर्दै आएका थिए । मस्कको बिचारमा यो विधेयक पारित भएमा राष्ट्रिय घाटामा खर्बौं डलर थपिनेछ र सरकारी खर्च कटौती गर्ने उद्देश्यले उनले नेतृत्व गरेको विभाग, डिपार्टमेन्ट अफ गर्भनमेन्ट एफिसिएन्सी (डज)को प्रयासलाई कमजोर पार्नेछ।
डजबाट १२९ दिनपछि बाहिरिएका मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समा उक्त विधेयकलाई ‘घिनलाग्दो र विकृत’ भनेका थिए । तर त्यो बेला उनले ट्रम्पलाई प्रत्यक्षरूपमा आलोचना गरेका थिएनन् । बिहीबार ट्रम्पले पत्रकारहरूसँग भने, ‘म मस्कको व्यवहारप्रति निराश छु ।’
त्यसपछि मस्कले एक्समा थुप्रै पोस्ट गर्दै आफू नहुँदो हो त ट्रम्पले चुनाव जित्न सक्दैन थिए समेत भने । साथै, ट्रम्पलाई यौन तस्करीको आरोपमा जेलमा नै रहेका बेला मरेका विवादास्पद व्यापारी जेफ्री एपस्टीनसँग जोडिएको आरोपसमेत उनले लगाए ।
