काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विपक्षी दलहरूले मागेकै आधारमा गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नु नपर्ने बताएका छन् ।
१३ औं कान्तिपुर हाफ म्याराथनको शनिबार उद्घाटन गरेपछि आयोजित छलफल कार्यक्रममा प्रधानमन्त्री ओलीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको कुनै संलग्नता नरहेको बताए ।
गृहमन्त्रीमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाका नाममा अनियमितता गरेको आरोप लगाउँदै विपक्षी दलहरूले संसद् अवरुद्ध गरिरहेको अवस्थामा प्रधानमन्त्रीले भने विपक्षीहरूले पूर्वाग्रहपूर्ण, निराधार र अनुचित भएको बताए ।
गृहमन्त्रीमाथि कुनै आरोप, छानबिन नभएकाले राजीनामा दिन नपर्ने प्रधानमन्त्रीको स्पष्ट भनाइ थियो ।
‘गृहमन्त्रीमाथि कुनै आरोप केही पनि छैन । यो कुनै मुद्दा मामिला पनि भएको छैन । यो कुनै इस्यु होइन । गृहमन्त्रीको राजीनामा माग गर्नु नित्तान्त पूर्वाग्रहपूर्ण, निराधार, अनुचित क्रियाकलाप हो । त्यसकारण यस अनुचित क्रियाकलापलाई साथ दिन सकिँदैन । गृहमन्त्रीले राजीनामा गर्नु पर्दैन, त्यसकारण गर्नुहुन्न,’ प्रधानमन्त्रीले भने ।
प्रतिपक्षी दलहरूले आफ्नो अस्तित्व देखाउनका लागि गृहमन्त्रीमाथि अनुचित आरोप लगाएको प्रधानमन्त्रीको भनाइ थियो । एउटा कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएर सोध्दैमा गृहमन्त्रीले राजीनामा गर्न आवश्यक नरहेको उनले बताए ।
