काठमाडौं । भिजिट भिषा प्रकरणमा मुछिएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने भन्दै चर्को दबाब परेको छ । सोहीक्रममा गृहमन्त्री लेखकको पार्टी नेपाली कांग्रेसमका महामन्त्री गगन थापाले गृहमन्त्रीले पदबाट राजीनामा दिएर अनुसन्धानमा सघाउनु उपयुक्त हुने बताएका छन् ।
पार्टीको धरान उपमहानगर सम्मेलनमा बोल्दै थापाले यस्तो धारणा राखेका हुन् । अनुसन्धानको दायरामा आएका व्यक्ति पदमा रहने वा नरहने विषय वैधानिक नभई राजनीतिक नैतिकताको विषय हुने उनको भनाइ छ ।
‘भिजिट भिसा प्रकरणमा भइरहेको अनुसन्धान गृहमन्त्रीसम्म पुग्छ भने अनुसन्धानको दायरामा आएको व्यक्ति पदमा रहिरहने विषय वैधानिक नभई राजनीतिक नैतिकता र वैधताको सवाल बन्न जान्छ । त्यस्तो अवस्थामा भने मन्त्रीको जिम्मेवारीबाट अलग भएर अनुसन्धानलाई सहयोग गर्ने कुरा वाञ्छनीय हुन्छ र उहाँले यसो नै गर्नुहुन्छ भन्ने पनि मलाई उत्तिकै विश्वास छ,’ थापाले भने ।
राज्यको जिम्मेवारीमा रहेका व्यक्तिले भ्रष्टाचारजन्य काम गरे त्यसको अनुसन्धान र अभियोजन गर्ने जिम्मा संविधानले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएको भन्दै थापाले अभियोजन गर्ने विषय नियमित प्रक्रिया रहेको बताएका छन् ।
