काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा इमान्दार प्रयास गरेकै कारणले देशबाट लोडसेडिङ अन्त्य गर्न सफल भएको दाबी गरेका छन् ।
मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत बागलुङको गलकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै आफूले विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई ल्याएको केही महिनामै लोडसेडिङ अन्त्य भएर प्राधिकरण नाफामा गएको स्मरण गरे ।
उनले भने, ‘लोडसेडिङका कारण आतङ्क थियो देशमा, हाम्रा विद्यार्थीहरूले टुकी बालेर पढ्नुपर्ने स्थिति थियो बिजुलीको अभावमा, अन्य व्यवसायहरू चौपट भएका थिए, त्यस्तो बेलामा मैले दोस्रो पटक प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरे, त्यसपछि मेरो ध्यान जसरी पनि लोडसेडिङ अन्त गर्नुपर्छ भन्नेमा गयो । लोडसेडिङ अन्त्य गर्नको लागि इमानदार कर्मचारी र इमानदार नेतृत्वको इच्छाशक्तिको संयोजनबाट मात्रै हुनसक्छ भनेर नै कुलमानलाई ल्याए ।’
उनले कुलमानलाई कांग्रेसका नेताहरूले पनि त्यसबेला विद्युत क्षेत्रको गहना भन्ने गरेको स्मरण गरे ।
उनले थपे, ‘कुलमान घिसिङले आफ्नो इमानदारिता र विज्ञताको साथ काम गरेर लोडसेडिङ अन्त्य भयो । लोडसेडिङ १७/१८ घण्टा हुँदा त्यो भन्दा दुर्भाग्य अरू केही थिएन । तर कुलमान नियुक्तिको केही महिनामै लोडसेडिङ अन्त्य भएर विद्युत प्राधिकरण नाफामा गयो ।’
