काठमाडौं । सर्वोच्च अदालतको परमादेशपछि गठन गरिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिबाट सम्पन्न एकता महाधिवेशनबाट निर्वाचित कार्यसमितिले एक उच्चस्तरीय न्यायिक तथा मेलमिलाप समिति गठन गरेको छ।
अध्यक्ष महेश कुमार श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमितिको दोस्रो बैठकले एनआरएनए अभियन्ता राजेन्द्र कुमार (आरके) शर्मालाई समिति संयोजक नियुक्त गर्दै उक्त समिति गठन गरेको हो। प्रवक्ता गंगाधर गौतमका अनुसार समितिमा आवश्यकता अनुसार थप सदस्यहरू समावेश गरिनेछ।
बैठकले संसारभरका राष्ट्रिय समन्वय परिषद्हरू (एनसीसी) लाई अर्को पक्षको नियन्त्रणमा रहेको एमआइएस प्रणाली प्रयोग नगर्न समेत आग्रह गरेको छ।
महासचिव बाबुराम (बीआर) लामाका अनुसार, एनसीसीहरूलाई आफ्नै पोर्टलमार्फत आवेदन प्रक्रिया सञ्चालन गर्न अनुरोध गरिएको छ। आफ्नै पोर्टल नभएका एनसीसीहरूलाई भने अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सँग समन्वय गर्न भनिएको छ।
यस्तै, क्षेत्रीय बैठकहरू आयोजना गर्ने विषयमा मिति र स्थान निर्धारण गर्ने जिम्मेवारी सम्बन्धित क्षेत्रीय संयोजकहरूलाई दिने निर्णय पनि कार्यसमितिले गरेको प्रवक्ता गौतमले जानकारी दिए।
