काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह उर्फ बालेनले नियुक्ति गरेका ३ वडा अध्यक्षले समितिमा नबस्ने निर्णय गर्दै मेयर साहलाई पत्र पठाएका छन् । उनीहरूले पठाएको पत्रमा विषयगत समितिको संयोजकमा रहन नसक्ने उल्लेख गरेका छन् ।
सुशासन समितिका संयोजक दलबहादुर कार्की, सूचना प्रविधि समितिका संयोजक वीरेन्द्र प्रजापति र सम्पदा तथा पर्यटन समितिका संयोजक विनोद राजभण्डारीले संयुक्त हस्ताक्षर गरी पत्र पठाएका हुन् ।
उनीहरुले पठाएको पत्रमा भनिएको छ– ‘तोकिएका जिम्मेवारीहरू कार्यपालिका बैठकबाट अनुमोदन नभएको अवस्था विद्यमान भएकाले उपयुक्त नदेखिएको हुँदा तत्तत् तोकिएको जिम्मेवारीमा नरहने व्यहोरा श्रीमान् प्रमुखज्यूसमक्ष संयुक्त रूपमा जानकारीका लागि अनुरोध गर्दछौं ।’
यसअघि काठमाडौं महानगरपालिकको २०७९ असार १० गते बसेको चौथो कार्यपालिकाको बैठकले १२ विषयगत समिति बनाउने निर्णय गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडलको सिफारिसपछि समिति गठन भएको थियो ।
मेयर साहको सचिवालयको जेठ १ गते चलानी नम्बर ६२०, ६२१ र ६२२ उल्लेख गरी तीन जना कार्यपालिका सदस्यलाई संयोजकको जिम्मेवारी तोकिएको पत्र पठाइएको थियो ।
मेयरले नगर कार्यपालिका कार्यसम्पादन नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम १ बमोजिम नयाँ संयोजक तोकेका हुन् । स्रोतका अनुसार समितिमा मनोनयन गरेका ४ मध्ये ३ जना नियमअनुसार जिम्मेवारी नदिएका कारण समितिमा नबस्ने अडान लिएका छन् ।
मेयर बालेन्द्र साहले नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने बेला यसअघि काम गरिरहेका चारवटा समितिका सभापति हटाएपछि महानगरमा बबाल भएको छ । सबै कार्यपालिकाका सदस्यले बजेटअघि कार्यपालिकाको बैठक बोलाउन माग गरेका छन् ।
पछिल्लो समय पुस ८ गते कार्यपालिकाको बैठक भएको थियो । झन्डै ५ महिना पुग्नलाग्दा बैठक बस्न सकेको छैन । अब पनि कार्यपालिका नबसे बजेट आउने अवस्था रहँदैन । मेयर साहले बजेट तयारी गर्नुभन्दा पनि आफ्नो विरोध गर्ने वडाध्यक्षमाथि कारबाही गरेका छन् । यसले गर्दा महानगर थप अस्तव्यस्त भएको छ ।
कार्यपालिका बैठकको निर्णयविपरीत हटाइएका ४ संयोजकले सुविधाको गाडी फिर्ता गरेका छन् । गाडी फिर्ता गर्नेमा सूचना प्रविधि, सुशासन, सम्पदा तथा पर्यटन र विधायन समितिका संयोजक छन् । यस्तै गाडी फिर्ता गर्नेहरूमा वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धर, २६ का अध्यक्ष ख्यामराज तिवारी र ८ का अध्यक्ष आशामान संगत र वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जन छन् ।
गाडी फिर्तालगत्तै आइतबार बसेको कांग्रेस र एमाले पार्टीको महानगर कमिटीको बैठकले नयाँ जिम्मेवारी दिएका संयोजकलाई समितिमा नपठाउने निर्णय गरेलगत्तै मेयर साहलाई पत्र पठाएका हुन् ।
उपमेयर सुनिता डंगोलको उपस्थितिमा एमाले निकट वडाध्यक्षको बैठकले मेयर साहले अवैध रूपमा नियुक्ति गरेको समितिमा नजाने निर्णय थियो । उपमेयर डंगोलले कार्यपालिकाले निर्णय नगरी मेयर साहले एकलौटी रूपमा गरेको निर्णय मान्य नहुने बताएकी थिइन् । बैठकमा एमालेबाट प्रतिनिधित्व गर्ने सबै वडाध्यक्षहरूको उपस्थिति थियो ।
मेयर साहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेश गराउन सहयोग गरेको र आफूविरुद्ध अन्तरवार्ता दिएकोलगायत ४ जनालाई हटाएका हुन् । कामपामा नेपाली कांग्रेसका १८, एमाले १२, नेकपा एस १ र रास्वपाका १ जना वडा अध्यक्ष छन् ।
समितिमा नबस्ने निर्णयपछि मेयर साह फेरि समस्यामा परेका छन् । आफूनिकट ठानेर संयोजक बनाएका वडाध्यक्षले पार्टीको निर्णय मान्दै समितिमा बस्न इन्कार गरेपछि मेयर साहले अब के गर्ने भन्ने निर्णयमा पुग्ने अवस्था छैन ।
