काठमाडौं । मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानका क्रममा दैलेख पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्थानीयले काँक्रो उपहार दिएका छन् ।
दैलेख सदरमुकाम जाँदै गर्दा चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ जम्बुकाँधमा स्थानीय किसान नगेन्द्र खड्काले प्रचण्ड नेतृत्वको अभियान टोलीलाई काँक्रोले स्वागत गरेका हुन् ।
गलामा माला लगाएका प्रचण्डले काँक्रो ग्रहण गर्दै खुसी व्यक्त गरे । खेती–किसानीमार्फत जीवन निर्वाह गर्दै आएका खड्काले पनि देशको पूर्वप्रधानमन्त्रीलाई आफ्नै मिहिनेतले उब्जाएको काँक्रो उपहार दिन पाउँदा खुसी लागेको बताए ।
माओवादी केन्द्र निकट किसान संगठमा आवद्ध उनले डोकोमा काक्रो बोकेका थिए । अभियान टोली अहिले भैरवी गाउँपालिकाको जलजले पुगेको छ । त्यहाँ प्रचण्डसहितका नेताले पेट्रोलियम पदार्थको उत्खननस्थलको अवालोकन गरेका छन् ।
