काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले जेठ १५ गते हाइ अलर्ट (उच्च सतर्क) रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
आज बिहान नेपाल पुलिस क्लबमा उपत्यकाका प्रहरी कार्यालय प्रमुखलाई निर्देशन दिँदै आईजीपी थापाले राजनीति व्यवस्था र संविधानविरोधी तत्व सल्बलाएको भन्दै गणतन्त्र दिवसका दिन राजावादीले गर्ने भनेको प्रदर्शनलाई लिएर ‘हाई अलर्ट’ रहन निर्देशन दिएका हुन् ।
राजनीति व्यवस्था र संविधानविरोधी तत्व सल्बलाएको भन्दै यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिँदै आईजीपी थापाले भने–‘कानूनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई महत्त्व दिनु ।’
हाल देखिएका सुरक्षा चुनौतिलाई अवसरको रूपमा बदल्नुपर्ने चर्चा गर्दै आईजीपी थापाले सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता प्रदर्शन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्नुपर्ने बताए ।
उनले भने, ‘कानूनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई महत्त्व दिनुहोला ।’ प्रदर्शनका क्रममा हुने कुनै पनि अराजकतापूर्ण गतिविधि सह्य नहुने भन्दै थापाले त्यसका निम्ति सबै प्रहरी युनिटलाई तयारी अवस्थामाा रहन निर्देशन दिए ।
प्रहरी महानिरीक्षक थापाले हालसम्म उपत्यकाको शान्ति सुव्यवस्था कायम राख्न सबै प्रहरी कर्मचारीहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै उपत्यकामा हुने विविध गतिविधि तथा घटनाहरूप्रति थप संवेदनशील भई सुरक्षित उपत्यकाको अवधारणा अनुरूप कार्य गर्न निर्देशन दिए ।
सभ्य बोलीवचन र शिष्ट व्यवहारका साथ थप संयमित एवम् अनुशासित भई आफूलाई रोल मोडलको रूपमा प्रस्तुत गर्दै सामुहिक भावनामा केन्द्रित भएर प्राप्त जिम्मेवारीलाई नविनतम् ढंगले सम्पादन गर्न उनले निर्देशन दिए ।
आईजीपी थापाले शान्ति सुव्यवस्था कायम राख्न सूचना संकलन तथा विश्लेषणमा थप सक्रिय हुनुपर्ने उल्लेख गर्दै अन्य सुरक्षा निकायसँग सहकार्य तथा समन्वय गर्दै कुनै पनि घटनाहरूको सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी परिचालन गरी प्रभावकारी प्रहरी सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने बताए ।
उनले चुनौतिका रूपमा देखिएका नयाँ प्रवृत्तिका अपराधका घटनाहरू नियन्त्रण तथा न्यूनीकरणमा विशेष ध्यान दिई प्रमाणमुखी अनुसन्धानलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।
हिरासत व्यवस्थापनमा विशेष संवेदनशील हुनुपर्ने बताउँदै फरार प्रतिवादी पक्राउ तथा फैसला कार्यान्वयनमा समेत थप सक्रिय हुनपर्ने एवम् ट्राफिक व्यवस्थापनमा देखिएका कमी कमजोरीहरूलाई सम्बोधन गर्दै निष्पक्ष सेवा प्रवाह गर्नुपर्ने उनको भनाई थियो ।
सोही सन्दर्भमा उनले प्रहरी अधिकृतले मातहतका कर्मचारीलाई कुटपिट गरेको घटनाले प्रहरी सङ्गठनलाई बदनाम गरेको बताए । गलत काम गर्ने कर्मचारीलाई सङ्गठनको विधिअनुसार कारबाही हुने आईजीपी थापाको भनाइ छ ।
