एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कतार भ्रमणको अवसर पारेर सरकारी ध्वजावाहक कतार एअरवेजले अमेरिकी विमान निर्माता कम्पनी बोइङसँग १६० वटा वाइडबडी विमान खरिदको सम्झौता गरेको छ । यसका अतिरिक्त उसले बोइङसँग थप ५० विमान खरिद गर्ने विकल्प पनि खुला राखेको जनाइएको छ ।
राष्ट्रपति ट्रम्प र कतारका अमिर शेख हमाद अल थानीको उपस्थितिमा बोइङका सीईओ केली ओर्टबर्ग र कतार एअरवेजका सीईओ बद्र मोहम्मद अल अमिरले उक्त खरीद सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यो खरिद आदेश बोइङको इतिहासको सबैभन्दा ठूलो सम्झौता भएको बताइएको छ ।
जीई एअरोस्पेसको इन्जिनसहितको बोइङ सेभेन-एट-सेभेन १३० थान र ट्रिपल-सेभेन एक्स ३० थान गरी कुल १६० वटा विमानको मूल्य ९६ अर्ब अमेरिकी डलर रहेको ह्वाइट हाउसले जनाएको छ । मध्यपूर्वको उच्चस्तरीय भ्रमणमा रहेका ट्रम्पका लागि यो एउटा विजय भएको रोयटर्सले टिप्पणी गरेको छ ।
यद्यपि ती जेट विमानहरूको आपूर्तिमा वर्षौं लाग्न सक्ने बताइएको छ । युरोपेली विमान निर्माण कम्पनी एअरबससँग प्रतिस्पर्धामा रहेको बोइङका लागि यो बिक्री सम्झौता ठूलो आर्थिक सफलताका रूपमा हेरिएको छ ।
यो सम्झौता लगत्तै बोइङको शेयरमा ०.६ प्रतिशत र जीई एअरोस्पेशको शेयरमा ०.७ प्रतिशतले उछाल आएको जनाइएको छ । बोइङ खरिदका अतिरिक्त अमेरिका र कतारबीच रक्षा, ऊर्जा लगायतका अन्य थुप्रै क्षेत्रका सम्झौतामा हस्ताक्षर भएको र यसबाट कम्तीमा १२ खर्ब डलर बराबरको आर्थिक आदान प्रदान सिर्जना हुने ह्वाइट हाउसले जनाएको छ ।
मध्यपूर्वका तीन देशको चार दिने भ्रमण अन्तर्गत साउदी अरब हुँदै हिजो बुधबार कतारको दोहा पुगेका ट्रम्प त्यहाँबाट संयुक्त अरब इमिरेट्सको अबुधाबीतर्फ प्रस्थान गरेका छन् ।
यसअघि ट्रम्प साउदी अरबमा रहँदा साउदीले अमेरिकासँग १४२ अर्ब डलरको हतियार खरिद सम्झौता गर्नुका साथै अमेरिकामा थप ६ सय अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको थियो ।
आफ्नो व्यापारिक सम्झौता केन्द्रित यो भ्रमणबाट ट्रम्पले अमेरिका र मध्यपूर्वबीचको सम्बन्धलाई नयाँ स्वरूप दिएको सीएनएनले टिप्पणी गरेको छ ।