सञ्जय मिश्रा
रौतहट । रौतहटको कटहरिया नगरपालिका अन्तर्गत विवाह भएको ६ महिना नपुग्दै नवविवाहिता मुस्लिम महिलाको मृत्युको घटनासँग जोडिएका मुख्य आरोपी फरार भएका छन् । घटनालाई दबाउन दोषीलाई कारवाहीबाट बचाउन अहिले बिचौलियाको चलखेल सुरु भएको छ ।
बिचौलियाले प्रहरीसँगै पीडित परिवारलाई अनेकन दवाब र प्रभावमा पार्न चलखेल सुरु गरेको पाइएको छ । कटहरिया-३ बडेरवा टोल घरभई हाल कटहरिया ५ बजार क्षेत्रमै घर भएका अरमान राय भाटको श्रीमती २१ वर्षीया सानीया प्रविनको शंकास्पद मृत्यु भएको थियो ।
माइती पक्षले दाइजोको कारण हत्या गरिएको दाबी गर्दै घटनाको छानबिन गरी कडा कानूनी कारबाही हुनुपर्ने माग गर्दै इलाका प्रहरी कार्यालय गरुडामा आएका छन् । घटनापछि मुख्य आरोपी मृतक सानियाका श्रीमान अरमान फरार छन् । तर विचौलियाहरु भने दिनभरी इप्रका गरुडाको चक्कर लगाइरहेका हुन्छन् ।
मृतकका बुबा भारत बिहार मोतीहारी जिल्ला सुगौली नगरपालिका-११ राय टोला निमोई गाउँका महमद मोलाजीम रौसनकाअनुसार दाइजोको कारण छोरी सानीयालाई दैनिकजसो कुटपिट गरी ज्वाईं अरमानसहित सपरिवार मिलेर हत्या गरेका हुन् ।
बिहे भएको ६ महिना भयो, तर विभिन्न सामान दाइजोमा र पैसा पनि माग गर्दै छोरीलाई एकपटक माइती जान नदिएको बुबा मोलाजीमले बताए ।
‘घटनाको अघिल्लो दिन छोरी सानीयासँग फोनमा कुराकानी भएको थियो । सम्धी अहमद रायले छोरीलाई माइती पठाउन सहमत भएका थिए । सोही सहमतीअनुसार घटनाको १ दिनअघी छोरीले फोन गरेर भनेकी थिइन्, बुबा गाडी लिएर भोलि आउनुहोला, साथसाथ घर जाने,’ बुबा मोलाजीमले भने ।
छोरीलाई माइतीबाट कुर्वानी पर्वअघि विदा गर्ने सम्धी अहमदसँग सहमति भएको थियो । ‘छोरी सानिया मर्नुअघि २ घन्टाअघि भिडियो कल गरेर भोलि आउने भन्दै आफ्नो आमालाई बताएकी थिइन् । सो समय छोरी निकै नै खुसीका साथ कुरा गरेकी थिइन्,’ उनले थपे ।
६ महिनाअघि अरमानसँग बिहे गर्दा दाइजोमा फर्निचर, वासिङ फ्रिज, कुलर पंखा, नाक, कान, घाँटीमा सुनको गहना, सुनको औंठीलगायत सम्पूर्ण सामान दिएको उनले बताए ।
छोरी सानीयाको बिहेपछि पनि कहिले केटीएम मोटरसाइकल त कहिले १ लाख भारु माग गरेको, केहीदिन अघि घरमा एसी जडान गर्न माग गरेको मृतक सानीयाकी बुबाले बताए ।
उनीहरूको माग पुरा गर्न नसकेको कारण बिशेष गरी सम्धिनीसँग मिलेर अरमानाले छोरी सानीयाको घाँटी थिचेर हत्या गरी पंखामा झुण्ड्याएर आत्महत्या देखाउन खोजेको मृतकका बाबु मोलाजीम रौशनले दाबी गरे ।
सम्धी अहमद रायको अर्को छोरा लालबाबु राय भाटसँग आफ्नो अर्की छोरी नगमा प्रविनको १० बर्षअघि विहे गरेको थिएँ । अहिले नाति नातिनी सबै छन् र खुसीका साथ गुजारा गरिरहेका छन् ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले हिजो बुधवार अर्की छोरी नगमा र ज्वाईं लालबाबुलाई बोलाएर बयान लिँदा घटनामा आरोपी अरमान पुरै दोषी भएको बयान दिएको मोलाजीमको भनाइ छ ।
डिएसपी कार्कीले घटना सम्बन्धमा अनेक कोणबाट अनुसन्धान भइरहेको बताए । मुख्य आरोपीलाई झिकाउन प्रहरी पठाएपनि उनी सम्पर्कबिहिन भएका छन् ।
यस घटनाबारे मुद्दा दर्ता नगर्न कयौं मानिसबाट सिफारिसका साथ अनेक प्रकारका प्रस्ताव आइरहेको डिएसपी कार्कीले स्वीकार गरेका छन् । ‘मानिसको ज्यान गएको घटना हो, सिफारिस गर्नेको कुरा छोडौं सिफारिस आईइरहन्छ । तर अनुसन्धानबाट दोषी ठहर भएमा कारवाहीको दायरामा ल्याइन्छ,’ उनले भने ।
के हो घटना
गत आइतवार दिउँसो आफ्नै घरको कोठामा साडीको पासो बनाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा सानीयाको शव भेटिएको थियो ।
घटनाको खबर लगतै इलाका प्रहरी कार्यालय कटहरिया र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले घटनास्थलमा पुगेर मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको थियो । पोष्टमार्टमपछि मृतकको शव माइती पक्षले बुझेर लगी सतगत गरिसकेका छन् ।
सानीयाको सासु ससुरालगायतकाले पासो लगाएर आत्महत्या गरेको बताइरहेका छन् । माइती पक्षले छोरीको हत्या गरेर शवलाई झुण्ड्याएर आत्महत्या देखाउन खोजेकाले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।
मृतककी काका सोलाजीम रौसनले भने, ‘हामी भारतबाट आएका छौं, यहाँको भाषा, यहाँको कानुनबारे थाहा छैन । तर यहाँको प्रहरीमाथि विश्वास छ, हामीलाई अवश्य न्याय दिन्छन् ।’
कटहरिया नगरपालिकास्थित स्थानीय निकायको निर्वाचनमा पराजित भएका कतिपय दलका नेताहरु उक्त घटनालाई दबाउ अहिले प्रहरी, सरकारी वकील र अदालतसम्मको दलाली गरिरहेको स्थानीयहरूले बताएका छन् ।