काठमाडौं । कोशी प्रदेशको प्रदेश स्तरिय सुरक्षा गोष्ठीमा सहभागी हुन पुगेका प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले प्रदेश प्रहरी प्रमुखसहित जिल्ला प्रहरी प्रमुखहरुलाई प्रदेशमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएका छन् ।
आईजीपी थापाले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) ईश्वर कार्कीसहित कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरुलाई नेपाल प्रहरीको कार्य सम्पादन सम्झौता वमोजिम शान्ति सुव्यवस्था प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।
अपराध अनुसन्धान एवम् नियन्त्रणको लागि भरपर्दो सुरक्षा रणनीति तयार गरी सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्यका साथ आम नागरिकको समस्यालाई समयमै सम्बोधन गर्ने गरी प्रहरी परिचालन गर्न समेत आईजीपी थापाको आग्रह छ ।
निर्देशनको क्रममा उनले लागूऔषधको प्रयोग तथा ओसार पसार, तस्करी एवम् गुण्डागर्दी, राजस्व चुहावटलगायतका गतिविधि नियन्त्रण गर्न सिमा नाकाहरुमा कडाईका साथ चेकजाँचको व्यवस्था मिलाउन समेत भनेका छन् ।
उनले प्रभावकारी अपराध अनुसन्धान, फैसला कार्यान्वयन, गुनासो व्यवस्थापन, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाह, विपद उद्दारलगायतका कार्यमा नेपाल प्रहरीको गरिमालाई सदैव उच्च बनाउने अभिप्रायले निःस्वार्थ भावका साथ परिचालन हुन निर्देशन दिएका छन् ।
निर्देशन सम्वोधन कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहल, प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारी, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, नेपाल प्रहरी प्रदेश कार्यालय धरान, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवी, नेपाल प्रहरी राजमार्ग तथा सुरक्षा व्यवस्थापन कार्यालय इटहरीका प्रमुखसहित जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत इकाईहरुमा कार्यरत सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।