काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङले लागुऔषध रोकथाम तथा नियन्त्रणको लागि सबै सरोकारवाला निकायहरूको समन्वय तथा सहकार्य आवश्यक रहेको बताएका छन् ।
लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत तारकेश्वर नगरपालिका र सामुदायिक प्रहरी सेवा केन्द्र बोहोराटार बालाजुको आयोजनामा तारकेश्वर नगरपालिकाको सभाहलमा बुधबार भएको सचेतनामूलक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले देशैभरी समस्याको रूपमा देखिएको लागुऔषध दुर्व्यसनले शान्ति सुरक्षामा असर गर्नुका साथै विभिन्न आपराधिक क्रियाकलापहरू समेत वृद्धि भएको बताए ।
उपत्यका प्रहरी कार्यालयद्वारा लागुऔषध विरूद्धको महाअभियान कार्यक्रम गत फागुन १७ गते गृहमन्त्री रमेश लेखकले नेपाल पुलिस क्लब भृकुटीमण्डपमा एक समारोहबीच शुभारम्भ गरेका थिए ।
सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङ र तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनबीच लागुऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो ।
आजको कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले लागूऔषध दुर्व्यसन नियन्त्रण तथा रोकथाम गर्न यस्ता सचेतनामूलक कार्यक्रमहरू अत्यन्तै फलदायी हुने उल्लेख गर्दे सबै सरोकारवाला निकायहरूले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा लागूऔषध नियन्त्रण व्यूरो काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सुदर्शन प्रसाद कोइराला, प्राध्यापक डा. केशव राज खड्का र विशेषज्ञ प्राध्यापक डा. केदार नरसिंह केसीले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।