काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालमा करिब एक महिनादेखि एउटा अतिरिक्त महानिरीक्षक (एआईजी) पद रिक्त छ । वैशाखको पहिलो साता अर्थात् २ गते एआईजी चन्द्रप्रकाश गौतम अवकाशमा गएपछि एआईजी पद रिक्त भएको हो ।
एआईजी बढुवा समितिको अध्यक्ष गृहसचिव रहने व्यवस्था छ । गत वैशाख १४ गते बढुवा समितिले ७ दिनको सूचना प्रकाशन गर्दै आवेदन आह्वान गरेको थियो । सात दिनको समय दिएर आवेदन भर्न आह्वान गरेको मिति सकिएको पनि एक साता भइसकेको छ ।
तर, यति लामो समय बितिसक्दा पनि बढुवा सिफारिस समितिको बैठक नै बस्न सकेको छैन । कारण हो, अहिले रिक्त एक एआईजीमा बढुवा हुने व्यक्ति २०८४ सालमा संगठन प्रमुख बन्ने बलियो आधार हुने भएकाले यो बढुवा निकै पेचिलो बनेको छ ।
भावी नेतृत्व जोडिएको सशस्त्रको एआईजीमा ८ जना नायब महानिरीक्षक (डिआईजी)ले आवेदन दिएका छन् ।
यस्तो छ प्रतिस्पर्धीको ट्र्याक रेकर्ड
आवेदन भर्नेमा नेपाल प्रहरीमा भर्ना भएर सशस्त्रमा स्थानान्तरण भएर आएका ४ जना, नेपाल प्रहरीमै प्राविधिक नायब निरीक्षक (सई)मा भर्ना भई सशस्त्रमा स्थानान्तरण भई आएका दुई जना र सशस्त्र प्रहरीमै भर्ना भएका सशस्त्र प्रहरी निरीक्षकको पहिलो ब्याचका दुई जना छन् ।
बढुवाको लागि डिआईजीहरु कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, कलिदास धौवजी, कुमार न्यौपाने, लक्ष्मणबहादुर सिंह, प्रदीपकुमार पाल, अञ्जनीकुमार पोखरेल, सुरेश श्रेष्ठले आवेदन दिएका हुन् ।
आवेदन दिनेमा नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा भर्ना भएर सशस्त्रमा स्थानान्तरण भएका कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी छन् ।
सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को (ग) अनुसार सशस्त्रका डिआईजीको पदावधि चार वर्षको हुन्छ । अहिलेको एआईजीको बढुवाका दाबेदारहरू गिरी, ठाडामगर, नेम्वाङ र सुवेदी चार वर्षे पदावधिका कारण २२ पुसमा अवकाश जाँदै थिए ।
तर, नियमावलीको दफा ६५ कै (ग) को (२) उपनियममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) को सिफारिसमा नेपाल सरकारले एआईजी र डिआईजी पदावधि चार वर्षपछि एक वर्ष थप्न सक्ने व्यवस्थाअनुसार उनीहरूको एक वर्ष पदावधि थप भएको थियो । उनीहरू अहिले एआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।
यसैगरी, नेपाल प्रहरीमा प्राविधिक नायब निरीक्षक (सई)मा भर्ना भएर सशस्त्रमा स्थानान्तरण भई आएका लक्ष्मणबहादुर सिंह र प्रदीपकुमार पाल छन् । यस्तै, सशस्त्रको पहिलो इन्सपेक्टर बेसिकका सुरेशकुमार श्रेष्ठ र अञ्जनी पोखरेल छन् ।
समितिले बढुवा गर्दा उपयुक्त पात्रलाई नियुक्त गर्न सक्ने भएकाले प्रतिस्पर्धामा रहेका ८ जनामध्ये जो पनि एआईजी हुन सक्नेछन् ।
कमल गिरी
रस्साकस्सीको चर्को भिडन्त चलिरहेका बेला डिआईजी गिरीको चर्चा हल्चोक, गृह मन्त्रालयदेखि बुढानिलकण्ठ हुँदै बालुवाटारसम्म चुलिएको छ । उनी बरियताको पहिलो नम्बरमा छन् । कुनै समय गिरी शक्तिशाली थिए ।
तत्कालिन समयमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित तत्कालिन गृहमन्त्री रामबहादुर थापा वादलको साथ पाएका गिरीले कोशी प्रदेशमा राम्रौ अर्थ जोहो गरेको हल्चोकमा चर्चा छ । उनी अहिले शक्तिकेन्द्रको खरो खोजीमा रहेका छन् ।
२०७२ मा युएन मिसन हाइटीमा कार्यरत रहँदा दारुको तालमा आफु भन्दा बरिष्ठ (Contingent Commander) लाई खुकुरी देखाएर अनुशासनको कारबाही भोग्दै डिपोट (फिर्ता) भएका गिरीले शक्ति केन्द्रमा अन्य सहकर्मीहरुको बारेमा आचरणका कुरा गरेपछि खैलाबैला मच्चिएको छ ।
त्यसो त सहकर्मीहरुले उनलाई सशस्त्र प्रहरीभित्र खुकुरी कान्छा भनेर चिन्ने गरेका छन् । स्टाफ कलेज समेत नगरेका गिरीले प्रदेश समाल्दा कार्यसम्पादन राम्रो नगरेको तथा सहायक बाहिनिपति हुँदा बाहिनिपतिलाई धम्क्याई कार्य सम्पादनको अंक दिन लगाएको आरोप छ ।
सशस्त्र प्रहरीमा खुकुरी काण्डको चर्चादेखि एसएसपीबाट डिआईजीहुँदा ५ नम्बरको सुचीबाट छलाङ मारेका गिरीलाई राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईले तत्कालिन समयमा राम्रै साथ दिएका थिए ।
गणेश ठाडामगर
बरियताको दोस्रो नम्बरमा रहेका डिआईजी ठाडामगर पनि विवादित पात्र, स्पष्टीकरण पाइसकेका व्यक्ति र माओवादीसँग विशेष झुकाव राख्ने व्यक्ति भएकाले उनलाई यसले बढुवामा असर पर्नसक्ने विश्लेषण हुन थालेको छ ।
यद्यपि, एआईजी बन्न उनले शक्तिकेन्द्रसामु चर्को लबिइङ गरिरहेका छन् । यसका लागि उनले बिचौलियाहरूको सहयोग खोजिरहेका छन् । ठाडामगर पटकपटक विवादमा आएका व्यक्ति हुन् ।
उनीमाथि नम्बर २ छिन्नमस्ता बाहिनीको बाहिनीपति हुँदा तस्कर समूहसँग विशेष साँठगाँठ गरेको, तस्करीको लाइन खुलाएको आरोप छ । उनी छिन्नमस्ता बाहिनीको बाहिनीपति हुँदा सशस्त्रकै एक जना सहायक निरीक्षक (असई)को भारतीय भूमिमा ज्यान गएको थियो ।
तयस्तै चेन अफ कमान्ड नमान्ने, सामाजिक सञ्जालमा जथाभाबी लेख्ने उनको स्वभावले उनलाई फोर्सको नेतृत्वमा पुग्ने गरि अगाडी ल्याउन मिल्छ की मिल्दैन भन्ने बारेमा मुख्यालयमा पटकपटक चर्चा भएको स्रोतको दावी छ ।
सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोका प्रमुख रहेको बेला ठाडामगरलाई सामाजिक सञ्जाल फेसबुकमा अमेरिकाका बहालवाला राष्ट्रपति ट्रम्पको कार्टुनसहितको तस्बिर राखेर पोस्ट गरेको भन्दै केही दिनअघि मात्रै सशस्त्र मुख्यालयले स्पष्टीकरण सोधेको थियो ।
डिआईजी ठाडामगरले सामाजिक सञ्जाल फेसबुकमा आपत्तिजनक प्रतिक्रिया दिँदै पूर्वराजा ज्ञानेन्द्र शाहबारे टिप्पणी गरेका थिए । ‘छँदाखाँदाको सत्ता जोगाउन नसक्नेले अहिले गोरुको झर्ला र खाउँला भन्ने आशमा बस्नु मनको लड्डु घिउसँग’ भनेर फेसबुकमा पोस्ट गरेका थिए ।
कुलबहादुर नेम्वाङ
नेम्वाङ सशस्त्र प्रहरीमा अब्बल अधिकृतको रुपमा चिनिन्छन् । सत्तारुढ दलका नेताहरुसँग राम्रो पहुँच भएका उनी नम्बर ४ बाहिनी गण्डकी प्रदेशको प्रमुख हुँदा आर्थिक विवादमा तानिएका थिए । बरियताको तेस्रो नम्बरमा छन् उनी ।
सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसको फेर समातेर एसएसपी भएका उनी अहिलेपनि एआईजी बढुवाको लागि एमाले र कांग्रेसका नेताहरुको घर घरमा पुगेको भन्दै सशस्त्र मुख्यालयमा चर्चा छ ।
स्रोतका अनुसार, अहिले उनी आफ्नो सहकर्मीहरुको कुरा लगाउँदै बढुवा हुने सोचमा रहेको स्रोत बताउँछ । अहिलेको वरीयतामा गिरी र ठाडामगर अगाडि रहेकाले उनीहरुलाई जसरी पनि बढुवाबाट रोक्न लागिपरेका छन् उनी ।
शभ्मु सुवेदी
सुवेदीले डिआईजीमा सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बाहिनीपतिको कमाण्ड सम्हाले । बढुवाको चौथो नम्बरका रहेका उनी समेत विवादित अधिकृत नै हुन् । कोशीमा रहँदा उनले कामलाई भन्दा कमाउ धन्दालाई बढी प्राथमिकता दिए ।
कोशी प्रदेशमा उनले केही कडाई गरेजस्तो देखिएपनि तस्करीलाई खुल्लमखुल्ला छोडिदिए । सानातिना सामानहरु पक्राउ गरेर केही काम देखाउन खोजेपनि संस्थागत तस्करी भने रोकेनन् ।
डिआईजी सुवेदीको कार्यकालमा कोशी प्रदेशको झापा जिल्ला खुला सीमाना भएकाले तस्करहरुलाई अबैधरुपमा सामान नेपाल भित्राउन सहज भएको थियो ।
लक्ष्मणबहादुर सिंह
सिंह बरियताको पाँचौं नम्बरमा छन् । नेपाल प्रहरीको प्राविधिक सईमा भर्ना भएर एआईजीजस्तो विशिष्ट श्रेणीको पदमा पुग्न आवेदन दिएका सिंह एसपी हुँदा रेशमलाल चौधरी मुछिएको टिकापुर काण्डमा जोडिएका व्यक्ति हुन् ।
त्यसदिन प्रदर्शन हुँदा टिकापुर गणबाट उनीसँगै निस्किएका नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेको निधन भएको थियो । त्यसदिन आठ सुरक्षाकर्मी र एकजना बालकको निधन भएको थियो । टिकापुर गणका तत्कालिन एसपी सिंह भने बचेका थिए ।
त्यसबेला सिंह र रेशमलाल चौधरीको आत्मीय सम्बन्ध रहेको चर्चा पनि चलेको थियो । उनी समेत आर्थिक विवादमा तानिएका व्यक्ति हुन् ।
प्रदीपकुमार पाल
सिंह र पाल गिरी र ठाडामगरभन्दा करिब एक वर्षपछि डिआईजी भएका हुन् । उनीहरु दुवैजना कार्यक्षमतामा कजोर मानिन्छन् । प्राविधिक पृष्ठभूमिका पाललाई पनि ५ नम्बर बाहिनीपति हुँदा तस्करी खुलाएको आरोप छ ।
त्यहाँको बाहिनीपति रहेकै बेला उनलाई पनि सोधपुछको लागि सशस्त्र मुख्यालयले बोलाएको थियो । त्यसैले उनको समभावना कम रहेको चर्चा सशस्त्र मुख्यालयभित्र चलेको छ ।
सुरेशकुमार श्रेष्ठ/अञ्जनी पोखरेल
एआईजी बन्न आवेदन दिएका सि.सं १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका श्रेष्ठमाथि सातदोबाटो गणको गणपति हुँदा रासन घोटानाको अभियोग लागेको थियो । गत १५ चैतमा तीनकुनेमा भएको घटनामा पनि सुरक्षा व्यवस्था मिलाउन नसकेको आरोप पनि उनीमाथि छ ।
यस्तै पोखरेललाई कोशी प्रदेशमा डिआईजी हुँदा व्यापक तस्करी खुलाएको तथा माओवादी नेताहरुसँग उठबस गरेको भन्दै सशस्त्र मुख्यालयले स्पष्टीकरण सोधेको थियो । मधेस प्रदेशको कमाण्ड गर्न पाइन भन्दै वर्तमान नेतृत्वमाथि माओवादी नेताहरुलाई दबाब दिन लगाएका पोखरेलमाथि आरोप छ ।
उनीहरुकै ब्याचीहरु दिपेन्द्र शाह र पुरुषोत्तम थापाले भने एआईजी बढुवाको लागि दावी गरेका छैनन् ।
