काठमाडौँ । सैनिक कल्याणकारी कोषको रकम हिनामिनामा संलग्न आरोपमा अवकाशप्राप्त प्रमुख सेनानी लक्ष्मण अधिकारी फरार छन् । चितवनको रत्ननगर नगरपालिका–१४ घर भएका ४५ वर्षीय अधिकारी अमेरिका पुगेको सैनिक अधिकृतहरू बताउँछन् ।
रकम घोटालामा संलग्न प्रतिवादी पूर्वप्रमुख सेनानी अधिकारीविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी गर्न सेनाले पत्राचार गरेको छ । अधिकारीविरुद्ध डिफ्युजन जारी गर्न पत्राचार गरिएको सैनिक प्रवक्ता गौरवकुमार केसीले बताए ।
सेनाको पत्रको आधारमा काठमाडौं प्रहरीले डिफ्युजन जारी गर्ने प्रक्रिया अघि बढाएको छ ।
त्यस्तै सोही रकम हिनामिनाको आरोपमा सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्कीमाथि सेनाले ‘थुना’मा राखेर अनुसन्धान गरिरहेको छ । उनीहरुमाथि सेनाले कोर्ट अफ इन्क्वाइरी सुरु गरेको हो ।
२०७४ मा कोषमा कार्यरत रहँदा त्यहाँको रकम उनीहरूले हिनामिना गरेको आरोप छ । त्यस बेला कोषको २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ घोटाला भएको प्रारम्भिक छानबिनबाट देखिएको छ ।
कार्यरथी विभाग अन्तर्गत समारोह सञ्चालन निर्देशनालयका प्रमुख जर्नेल खड्का र मेजर कार्कीलाई आन्तरिक निगरानीमा राखिएको सैनिक प्रवक्ता केसीले बताए । उनले भने, ‘उहाँहरू सैनिक प्रहरीको निगरानीमा हुनुहुन्छ ।’
अवकाश प्राप्त जमदार आत्मराम थापा पक्राउ परेपछि जर्नेल र मेजरको ‘मिलेमतो’ रहेको खुलेको हो । त्यसपछि उनीहरू छानबिनमा तानिएका हुन् । काभ्रेको पनौती नगरपालिका–१० घर भएका ४५ वर्षीय आत्मरामलाई सेनाले करिब ६ महिनासम्म आन्तरिक अनुसन्धान गरेर प्रहरीको जिम्मा लगाएको थियो ।
सैनिक प्रवक्ता केसी भन्छन्, ‘सेवा निवृत्त भैसकेको हुनाले थापालाई थप अनुसन्धान अघि बढाउन प्रहरीमा पठाएका हौँ ।’ जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले थापालाई आपराधिक विश्वासघात गरेको कसुरमा वैशाख २५ मा अभियोग दायर गरेको थियो ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टले यहि वैशाख २८ मा उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरे । थापा अहिले पुर्पक्षको लागि कारागारमा छन् ।
२०७३ देखि २०७५ सम्म सो शाखामा काम गरेका जमदार आत्मराम थापाले सो रकम आफूले बैंकबाट साटेर ल्याएर तत्कालीन मेजर अधिकारी, हाल बहालमा रहेका मेजर कार्की र तत्कालीन प्रमुख सेनानी खड्कालाई नगदै दिएको बयान दिएका छन् ।
उनले बयानमा भनेका छन्, ‘चेक तयार गर्ने र साटेर ल्याउने काम गरेबापत मलाई बिदामा सहुलियत, पेट्रोलको कुपन तथा क्यान्टिनमा खाजा खाएको पैसा तिरिदिने गरेका थिए ।’
अवकाशप्राप्त लेफ्टिनेन्ट कर्णेल अधिकारीले मानिसहरूको नाम लिस्ट दिएर सोहीअनुसार चेक तयार गर्न लगाउने गरेको थापाले बयानमा खुलाएका छन् । बयानमा उनले भनेका छन्, ‘चेक सटही गरेर ल्याएपछि सो रकम तत्कालीन सेनानी लक्ष्मण अधिकारी, बोधराज कार्की र तत्कालीन प्रमुख सेनानी रोशन खड्कालाई दिने गरेको थिएँ ।’
दुई पटकमा १४४ र ४० थान चेकबाट सो रकम निकालेर हिनामिना गरेको अनुसन्धानबाट थाहा भएको छ । २०७४ कार्तिक १३ देखि २०७५ भदौ २६ सम्ममा १४४ थान चेक सटही गरेको विवरण भेटिएको छ । त्यस्तै, २०७३ फागुन ९ देखी २०७५ असोज १७ सम्मको अवधिमा ४० थान चेकबाट रकम अपचलन गरेको भेटिएको छ ।
कल्याणकारी निर्देशनालय अन्तर्गत आवास तथा बिमा शाखाबाट फर्जी चेक जारी गरेर रकम हिनामिना भएको प्रहरी अनुसन्धानको निष्कर्ष छ । सेनाबाट राजीनामा गएका, उपदान र मृतकका परिवारले पाउने रकम आरोपीहरूले फर्जी नाममा चेक काटेर आफैँले लिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।
