सञ्जय मिश्रा
रौतहट । ललाईफकाई विभिन्न प्रलोभन देखाएर बाराकी एक चेलीलाई भारतको राजधानी दिल्लीस्थित बेश्यालय पुर्याउन खोजेका एक युवक भारतीय सीमा सुरक्षा बल एसएसबीको फन्दामा परेका छन् ।
रौतहटसँग सिमाना जोडिएको भारत बिहार मोतीहारी जिल्ला झरौखर थाना क्षेत्र अन्तर्गत जमुनियास्थित एसएसबी क्याम्पको टोलीले गएराती उनलाई पक्राउ गरेको हो ।
नेपालबाट एकजना युवकले मानव तस्कारीको उदेश्यले एक युवती लिएर आउँदै गरेको सूचनाको आधारमा नेपाल भारत सीमाक्षेत्र पिल्लर संख्या घछछटरद्द नजिकै मोटरसाइकलमा जाँदै गरेको अवस्थामा युवायुवतीलाई पक्राउ गरेको एसएसबीले जनाएको छ ।
पक्राउ पर्नेमा बारा जिल्ला सिम्रौनगढ नगरपालिका १० देवापुर टेन्टा घर भएका नागेश्वर साहको छोरा अन्दाजी बर्ष २५ को सुरज गुप्ता रहेको एसएसबी क्याम्प जमुनियाका कम्पनी कमाण्डर राजनन्दन कुमारले बताए ।
सिम्रौनगढ नगरपालिका अमृतगन्ज घर भएकी पासवान थरकी २० वर्षीया विवाहीत युवतीलाई भगाई लगिरहेका गुप्ताले पटक पटक बयान फेरी रहेका थिए ।
उनलाई कडाईका साथ सोधबुझ गर्दा पासवान युवतीलाई दिल्लीस्थित उसको सानीआमाले सञ्चालन गरेको यौन व्यवसायमा लगाउने उद्देश्यले लागिरहेको स्वीकारेको एसएसबी कमान्डर कुमारले बताए ।
विआर ०१ विए ३४२१नम्बरको उक्त मोटरसाइकल आफन्तको घरमा राखेर घोडासहनबाट ट्रेन चढेर युवतीलाई लिएर दिल्ली जाने उनीहरूको योजना रहेको कमान्डर कुमारले जानकारी दिए ।
उनीहरूको साथबाट एकथान मोटरसाइकल, केटीको ब्यागबाट ५० हजार नेपाली रुपैयाँ र केटाको पाकेटबाट १२ हजार नेपाली रुपैयाँ बरामद भएको छ ।
एसाएसबी क्याम्पमा पुगेर पक्राउ परेकी युवतीको बुवाले लाखौं खर्च गरेर यसै बर्ष बिहे गरेको छोरीलाई गुप्ताले ललाईफकाई दिल्ली लगेपछि उनले मानव तस्करी गरिरहेका गुप्तालाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका छन् ।
पक्राउ परेका युवा युवतीलाई आवश्यक कारवाहीको लागि राति नै रौतहटस्थित प्रहरी चौकी बंकुलमा एक गैरसरकारी संस्थाका प्रतिनिधिको रोहवरमा बुझाएको एसएसबी क्याम्प जमुनियाले जनाएको छ ।
पछिल्लो समय रौतहट र बाराको बिभिन्न गाउँबाट नेपाली चेलीलाई भारत पुर्याउने घटना बढिरहेकाले सीमाक्षेत्रमा कार्यरत नेपाली सुरक्षाकर्मीहरूले बिशेष निगरानी गर्नुपर्ने एसाएसबीले सुझाव दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक कुमार रायले घटनाको पुष्टी गरेका छन् । पक्राउ परेका आरोपी युवा र युवतीको घर बारा जिल्लामा भएकाले थप अनुसन्धान तथा कारवाहीको लागि दुवैजनालाई बारा प्रहरीको जिम्मा लगाइएको रायले जानकारी दिए ।
