चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले निकट भविष्यमा यहाँ छिट्टै एसपी परिर्वतन नहुने र पुरा कार्यकाल आफ्नो जिम्मेवारी पुरा गर्ने दावी गरे ।
एक हप्ताअघि जिल्ला प्रहरी कार्यालय चितवनको नयाँ प्रमुखको रुपमा कार्यभार सम्हालेपछि पुरीले बुधबार सञ्चारकर्मीहरुसँगको भेटमा सो कुरा बताएका हुन् । यसअघि ६ महिनाको बीचमा चितवनमा तीनजना एसपीको सरुवा भएको थियो ।
एसपीहरु चितवन प्रहरी प्रमुख भएर ३/३ महिनामै आउनेजाने भएपछि सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा एसपी पुरीले भने, ‘ढुक्क भए हुन्छ, कार्यकाल पुरा गरि यहिँबाट विदा हुन्छु ।’
३ हप्ताअघि प्रहरी प्रधान कार्यालयले जिम्मेवारी हेरफेर गर्दै एसपी पुरीलाई चितवन प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी तोकेको थियो । देशको केन्द्र भागमा रहेको चितवनलाई सुरक्षाको दृष्टिकोणबाट संवेदनशिल मानिन्छ ।
नयाँ एसपी पुरीले चितवन जिल्लालाई सुरक्षाको दृष्टिकोण नमूना बनाउन उत्कृष्ट काम गर्न र जिल्लामा शान्ति सुरक्षा कायम राख्न सबै क्षेत्रसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले परिष्कृत ढगंले निर्मम भएर शान्ति सुरक्षा कायम गर्ने आफ्नो प्रमुख प्रथामिकता रहेको उनको भनाई थियो ।
मलाई विश्वास गरेर प्रहरी नेतृत्वको दिएको जिम्मेवारी निष्पक्ष तबरबाट पुरा गर्ने दावी गर्दै एसपी पुरीले सुरक्षाको सवालमा कुनै कसर बाँकी नराख्ने समेत बताए ।
‘चितवनमा शान्ति सुरक्षा कायम गर्ने सवालमा आफूले कुनै पनि कसुर बाँकी राख्ने छैन्,’ उनले भने, ‘चितवनमा विभेदरहित न्याय दिन तल्लिन हुनेछु । म दवाव र प्रभावमा होइन्, जनताले अनभूति गर्ने गरी सबैको लागि काम गर्नेछु । यहाँको चुनौतीलाई अवसरको रुपमा लिनेछु ।’
