काठमाडौं । गत ३१ चैत २०८१ मा लमजुङ बेसीशहर नगरपालिका– २ भकुण्डे गाउँस्थित अस्थायी प्रहरी बिट नजिकैको एक घरमा पूर्वप्रहरी हवल्दार सीता कँडेलको शव आफ्नो सुत्ने कोठाको लोबेडको भित्र त्रिपालले बेरिएको अवस्थामा भेटिएको थियो ।
विभत्स हत्या भएको एक महिना बित्दा पनि आफ्नै पूर्व कर्मचारीको हत्यारा पक्रन प्रहरी असफल भएको छ । यो घटनाले प्रहरीप्रतिको विश्वासमा थप आशंका उब्जिएको पीडित परिवारजनको भनाइ छ ।
बेसीशहर नगरपालिका– २ भकुण्डे गाउँकी ४७ वर्षीया पूर्वप्रहरी हवल्दार कँडेलको हत्यारा पत्ता लगाउन प्रहरी असफल भएको हो । उनको २, ३ अघि नै हत्या भएको हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको छ ।
पोष्टमार्टम रिपोर्टबाट समेत सीताको हत्या नै भएको खुलेको प्रहरी भनाइ छ ।
प्रहरीले अभियुक्तको पहिचान गरेको दावी गरे पनि पक्राउ गर्न भने असफल हुँदा घटना झनै रहस्यमय बन्दै गएको पीडितहरूले गुनासो गरेका छन् । सीताको शव पलाङभित्र राखिए पनि कोठाको बाहिर र घरको मूलगेटमा समेत चापी लगाएको भेटिएको थियो ।
सो घटना भएको एक महिना बित्दा पनि प्रहरीले सो घटनाको हत्यारा पत्ता लगाउन नसकेको हो । प्रहरीले हत्याराको पहिचान खुली सकेको र निजलाई नियन्त्रणमा लिन आवश्यक सबै प्रक्रिया अघि बढाएको बताएको पनि धेरै दिन वितिसकेको छ ।
तर हत्यारा भने पक्रन सकेको छैन जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक राजकिशोर साह तेलीले बताए । उनका अनुसार शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिन सकिएको छैन, खोजी क्रम जारी छ । उनले भने ।
आशंका गरिएका व्यक्ति यसअघि पनि सीताकोमा आउजाउँ गर्ने गरेको प्रहरीको भनाइ छ । ती युवकसँग सीताको ठूलो कारोबार रहेको बताइन्छ । आशंका गरिएका ती युवकको मोवाइल अफ रहेको र उनको घरपरिवार, नातागोतामा समेत सम्पर्कमा नरहेको हुँदा अनुसन्धान उनैमाथि केन्द्रित रहेको प्रहरी भनाइ छ ।
आशंका गरिएका व्यक्तिको नाम सार्वजनिक गर्दा अभियुक्त झनै भाग्न सक्ने भएको हुँदा गोप्य राखिएको सूचना अधिकारी तेलीले बताए । तराई मूलका ती युवक घटनापछि बेपत्ता रहेको र छिमेकी देश भारततर्फ गएको हुनसक्ने प्रहरी अनुमान छ ।
सीता घरमा एक्लै बस्थिन् । उनका छोरा अभिनास कँडेल बुहारीका साथ लामो समयदेखि अस्ट्रेलिया छन् । दिनदिनै कुरा हुने आमासँग चारदिनदेखि आमासँग सम्पर्क नभएपछि उनका छोरा अभिनासले छिमेकी आफन्तलाई फोन सम्पर्क गरेर आमाबारे सोधखोज गरी बुझ्न आग्रह गरे ।
त्यसपछि सीताको खोजी भएको हो । सो क्रममा सीताको घर भित्रबाट शवको गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घरको ताला फोरी निरीक्षण गर्दा पलङको मुनी त्रिपालले बेरिएको अवस्थामा कँडेलको शव फेला परेको थियो ।
सीताका छोरा अभिनास विदेशबाट आएर आमाको काजक्रिया गरी अस्ट्रेलिया फर्केका छन् । उता जाने समयमा उनले मानवअधिकारकर्मी र पत्रकारहरूलाई आफ्नी आमा सीताको न्यायका लागि लडिदिन आग्रह गरेका छन् ।
