काठमाडौं । भारतको राजधानी दिल्लीमा गत अप्रिल ११ मा भएको एक ठूलो चोरी घटनामा संलग्न रहेका ८ जना कैलाली प्रहरीको हिरासतमा छन् ।
राजस्थान बस्ने दिल्लीमा घर भएका भारतीय नागरिक कपिल बद्रीलालको घरमा चोरी भएको घटनामा विभिन्न किसिमले जोडिएका ८ जना हिरासतमा पुगेका हुन् ।
कानुनी जटिलताका कारण उनीहरूलाई अभद्र व्यवहार मुद्दा चलाइएको बताइन्छ । दिल्लीमा योजनाबद्ध रुपमा भएको सो चोरीको घटनाअपछि भारतीय दूतावासमार्फत समन्वयका लागि नेपाल प्रहरी प्रधान कार्यालयलाई अनुरोध आएपछि खोजबिन थालिएको थियो ।
त्यसपछि सो घटनामा पक्राउ परेकामध्ये धनगढीका तीनजना सुनचाँदी व्यवसायी रहेका छन् । अछामको मेल्लेख गाउँपालिकाको सेल गाउँका राजेश साउद, गोकुल साउद, सुरेश साउद, धनगढीको एसके सुनचाँदी पसलका सञ्चालक सुरेश बर्मा, दिपेन्द्र सोप र रोविक सुनचाँदी पसलका सञ्चालक रोहित सिजापती पक्राउ परेका हुन् ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश मल्लकाअनुसार गोदावरी नगरपालिकाका मिनबहादुर गुरुङ र ज्ञानेन्द्र ज्ञानेन्द्र खड्कालाई समेत पक्राउ गरिएको छ । खड्का उनै मान्छे हुन्, जसले सामाजिक सन्जालमा सुन लगाएको तस्बिर प्रदर्शन गर्दै प्रहरीसँग निकटस्थ देखिन्थे । त्यसैले केही प्रहरी पनि अनुसन्धानमा तानिनसक्ने बताइएको छ ।
यो प्रकरणमा संलग्न अन्य दुईजना भारतीय नागरिकसहित झापाका देव मल्ल र दोलखाका शंकर लामा भारतको दिल्लीमा पक्राउ परेका छन् भने अन्य तीनजना अझै फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार उनीहरुको साथमा नगद २८ लाख नेपाली रुपैयाँ, दुई सय ४० ग्राम सुन, १३ तोला सुनको गरगहना, चार किलो नौ सय ग्राम चाँदी र चार वटा घडी फेला परेको छ ।
भारतीय दूतावासले कपिलको घरबाट २ किलो सुन, २२ लाख भारतीय रुपैयाँ, १० किलो चाँदी र १० वटा घडी चोरी भएको विवरण दिँदै अनुसन्धानमा सहजीकरणका लागि औपचारिक अनुरोध गरेको थियो ।
स्रोतका अनुसार यो गिरोहले घरेलु कामदारमार्फत सूचनासंकेत दिने, योजना बनाउने र चोरी गरिएका सामान नेपाल ल्याएर सुनचाँदी व्यवसायीमार्फत बिक्री गर्ने गरेको पाइएको छ ।
उनका अनुसार दिल्लीस्थित गिरोहले सुरुमा लक्षित घरमा नेपाली कामदार भर्ना गराउने, ती कामदारबाट घरभित्रका मूल्यवान वस्तुको जानकारी सङ्कलन गर्ने र त्यसैको आधारमा चोरी गरिने गरेको देखिएको छ । चोरीपछि उक्त सामान नेपाल ल्याइने र यहाँका व्यवसायी र विचौलियाको सहायताले बिक्री गरिने गरेको खुलेको छ ।
भारतमा हुने चोरीको हकमा दुई देशबीचको संयुक्त कानुन अभावमा सोही शीर्षकमा मुद्दा चलाउन चुनौतीपूर्ण भएपनि प्रहरीले समन्वय गरेर आरोपीतको साथमा भेटिएको नगद र गरगहना सम्बन्धीत पक्षलाई नै फिर्ता गराउने गरेको छ ।
प्रहरीकाअनुसार भारतमा घरेलु कामदारका रुपमा जाने नेपालीहरु संगठित रुपमा चोरीमा संलग्न हुने गरेको देखिन्छ ।
यो गिरोहमा विचौलियाको भूमिकामा अत्तरियाका खड्का र गुरुङ थिए भने यसमा केही प्रहरीसमेत मुछिनसक्ने भन्दै उनीहरूलाई पनि टार्गेटमा राखिएको जनाइएको छ । प्रहरीले मिलेमतो गरेर आर्थिक चलखेल गराएको हुनसक्ने अनुमान छ ।
