काठमाडौं । नुवाकोटमा त्रिशूली नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन् ।
मंगलबार साँझ नुहाउने क्रममा दुईजना बालिका नदीमा बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।
बेपत्ता हुनेमा बेलकोटगढी नगरपालिकाका- ७ का ११ वर्षीया जेनी डंगोल र ११ वर्षीया सदीक्षा रहेका छन् ।
दुई बालिका र नौ वर्षीय एक बालक नुवाउन र लुगाधुन भनेर नदीमा गएका अभिभावकको भनाई छ । दिदीहरु नदीमा बेपत्ता भएपछि बालकले अभिभावकलाई खबर गरेका थिए ।
उनीहरुको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गुल्म नुवाकोटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक वीरबहादुर तामाङको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन भएको छ ।
त्यस्तै नेपाल प्रहरीको समेत छुट्टै टोली परिचालन गरेर खोजीकार्य जारी राखेको एसपी रेग्मीले बताए ।
