सञ्जय मिश्रा
रौतहट । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डिआईजी उमा प्रसाद चतुर्वेदीले आपराधिक गतिविधि र तस्करी पूर्ण रुपमा नियन्त्रण गर्न कडा निर्देशन दिएका छन् ।
मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि डिआईजी चतुर्वेदीले मंगलवार जिल्ला प्रहरी कार्यालयहरुको स्थलगत अनुगमन निरीक्षण गरेका छन् । जसमध्ये आज उनले रौतहटको स्थलगत अनुगमन निरीक्षण गरेका हुन् ।
अनुगमन तथा निरीक्षणको क्रममा डिआईजी चतुर्वेदीले उपस्थित प्रायः जिल्ला प्रहरी कार्यालय रौतहट जिल्लाका सम्पूर्ण युनिट प्रमुखहरूलाई एकै ठाउँमा राखेर कडा निर्देशन दिएका हुन् ।
सत्य सेवा सुरक्षणमको मूल मन्त्र सम्झिएर नागरिकको जिउधनक सुरक्षामा कुनै कमी नगर्न उनले निर्देशन दिएका हुन् । डिआईजी चतुर्वेदीले भारतबाट हुनेगरेको विभिन्न किसिमका सामानको तस्करी, र आपराधिक क्रियाकलाप पूर्ण नियन्त्रण गर्न कडा निर्देशन दिए ।
त्यस्तै जिल्ला प्रहरी कार्यालयदेखि सम्पूर्ण प्रहरी युनिटमा काम बिशेषले आउने सेवाग्राहीको समस्या सुनेर सामाधानको पहल गर्न भनेका छन् । त्यस्तै कुनै पनि कार्यालयमा विचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गर्न निर्देशन दिएका छन् ।
फरार प्रतिवादी पक्राउ गर्न तदारुकता देखाउने, तस्करीको सामान नियन्त्रण गर्ने, बिहेवारी, घरायसी कामकाजको सामानको लागि सहज व्यवस्थापन गर्न र घुमुवा प्रहरीको नाउँमा तस्करसंग लेनदेन, व्यापारी माझ आतंक नमच्चाउन आग्रह गरेका छन् ।
निर्देशन विपरित कार्य गर्ने जो कोहिलाई पनि कडा कार्वाही गर्ने डिआईजी चतुर्वेदीले चेतावनी दिएका छन् ।
डिआईजी चतुर्वेदीले प्रदेशका सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई प्रभावकारी अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक एवं पिडित मैत्री सहज र द्रुत प्रहरी सेवा, मानव अधिकार संरक्षण, प्रहरीको आचरण र व्यवहारमा सुधार गराउने आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन्।
आज जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्र मणि गिरीले डिआईजी चतुर्वेदीको स्वागत गरेका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटको प्राङ्गणमा चतुर्वेदीले थुनुवा कक्ष, मुदाशाखा, हतियार भण्डारण कक्ष, लगायत अन्य शाखाहरूको निरीक्षण गरेका थिए ।
डिआईजी चतुर्वेदीले जिल्ला प्रहरी कार्यालय रौतहटअघी मंगलवार जिल्ला प्रहरी कार्यालय सर्लाहीको निरीक्षण गरेका थिए।
