काठमाडौं । चितवनको खैरहनी नगरपालिका ८ आहार क्याफेभित्रै अन्धाधुन्ध खुकुरी प्रहार गर्दा ३ जना घाइते भएका छन् । खुकुरी प्रहारबाट राप्ती नगरपालिका-४ का २८ वर्षीय दिपेन्द्र सिंह गोले, २८ वर्षीय गणश लामा र खैरहनी नपा-९ सिमलटाँडी बस्ने बर्ष २७ को अमृत आचार्य घाइते भएका हुन् ।
क्याफेभित्र बसेर कफी खाइरहेको समयमा ८,९ जनाको समूह आएर अन्धाधुन्ध रुपमा खुकुरी प्रहार गरेको घाइते आचार्यले बताए । आचार्यले स्कुपखबरसँगको कुराकानीमा भने, ‘४ वटा मोटरसाइकलमा आएका समूहले खुकुरी प्रहार गरेका हुन् । जुनकुरा सार्वजनिक भिडियोमा पनि देख्न सकिन्छ ।’
खुँडा प्रहार गर्ने व्यक्तिहरु हुन् भरतपुरका सुमन मगर, गैडाकोटका सरोज क्षेत्री, मिलन लामा, गडौलीको दावा तामागं, राजु लामालगायतको समूह । आपारधिक पृष्ठभूमिका सुजन लामाको निर्देशमा पुरानो रिसिईबीका कारण खुकुरी प्रहार भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
सुजन लामा मुख्य नाइके रहेको घाइतेहरु बताउँछन् । लामा झैझगडा गरेर हिँड्ने व्यक्ति समेत हुन् । यसअघि पटकपटक पक्राउ पर्दै छुट्दै आएका लामाको घर राप्ती नगरपालिका-९ हो । तर, पछिल्लो समय उनी भरतपुर-२ स्थित क्षेत्रपुरमा भाडामा बस्दै आएका छन् ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ भने अन्यहरुको खोजीकार्य तीव्र पारेको छ । पक्राउ पर्नेहरुमा राप्ती नगरपालिका-४ भवानीपुर बस्ने वर्ष २९ को मिलन रुम्बा र सोही ठाउँका विशाल लामा रहेका छन् ।
घाइतेहरुको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्
