सञ्जय मिश्रा
रौतहट । कटहरिया नगरपालिकामा विवाह भएको ६ महिना नपुग्दै एकजना मुस्लिम नवविवातित महिलाको शंकास्पद मृत्यु भएको छ । माइती पक्षले दाइजोको कारण हत्या गरिएको दाबी गर्दै घटनाको छानबिन गरी कडा कानूनी कारबाही हुनुपर्ने माग गरेका छन् ।
कटहरिया-३ बडेरवा टोलमा घर भई हाल कटहरिया नगरपालिका-५ बजार क्षेत्रमै घर भएका अरमान राय भाटको श्रीमती २१ वर्षीया सानीया प्रविनको शंकास्पद मृत्यु भएको हो ।
आइतवार दिउँसो आफ्नै घरको कोठामा साडीको पासो बनाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा सानियाको शव भेटिएको प्रहरीले जनाएको छ ।
घटनालगतै इलाका प्रहरी कार्यालय कटहरिया र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले घटनास्थलमा पुगेर मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको थियो ।
मृतकको पोष्टमार्टम भएर शव सतगतको लागि मृतक सानियाका आमा भारतको बिहार पूर्वी चम्पारण जिल्ला सुगौली घर भएकी कायमा खातुनले बुझेर लगेको प्रहरीले जनाएको छ।
मृतककी आमा खातुनकाअनुसार सानीयाको विवाह करिब ६ महिना अघिमात्र अरमान राय भाटसँग मुस्लिम परम्परा अनुसार भएको थियो ।
विवाहपछि ज्वाईं अरमानले निरन्तर दाइजोको लागि छोरी सानियालाई अनेक प्रकारको शारीरिक तथा मानसिक यातना दिँदै आएको थियो ।
ज्वाईं तथा उनको परिवारले दिनेगरेको यातना सहन नसकेको र उनीहरूले योजनाबद्ध तरिकाले सानियाको हत्यागरी आत्महत्या देखाउन खोजेको कायमाले दाबी गरेकी छिन् । घटनामा संलग्न अरमानसहित सबैलाई पक्राउ गरी कडा कानुनी कारवाही हुनुपर्ने सानियाको माइती पक्षले माग गरेको छ ।
माइती पक्षले छोरीको हत्या भएको भन्दै इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दर्ता गरेको जनाएको छ । तर, गरुडाका प्रमुख डिएसपी राजन कार्कीले घटनाविरुद्धको जाहेरी हालसम्म दर्ता नभएको तथा घटना शंकास्पद भएको संकेत दिए ।
डिएसपी कार्कीले घटनाको अनुसन्धानपछि मात्र यकिन साथ भन्नसक्ने अथवा कानुनी प्रक्रिया अगाडी बढाइने बताए ।
