काठमाडौं । अपराध अनुसन्धानकै क्रममा केही प्रहरी अफिसरहरु सेलिब्रेटी बने । कोही चाहिँ डर लाग्दा अपराध अनुसन्धान फत्ते गरेर पनि चर्चामा आएनन् । अर्थात उनीहरुलाई मिडिया पब्लिसिटिसँग खासै रहर लागेन । मिडियाबाजी धेरै गरेनन् ।
त्यसैमध्येका एक हुन् प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी । जो धेरै बोल्दैनन् र मिडियाबाजी गर्न पनि रुचाउँदैनन् । हाल एसएसपी अधिकारीले काठमाडौं प्रहरी प्रमुखको कमाण्ड सम्हालिरहेका छन् ।
एसएसपीमा आफ्नो ब्याचबाट पहिलो नम्बरमा बढुवा भएका अधिकारीलाई ११ माघ २०८१ मा काठमाडौं प्रहरी प्रमुखको रुपमा सरुवा गरिएको थियो । एसएसपीमा उनको पहिलो कमाण्ड हो । त्यसयता काठमाडौंवासीको सुरक्षाको जिम्मेवारी एसएसपी अधिकारीको काँधमा छ ।
थोरै बोल्ने स्टेट फरवार्ड स्वभावका एसएसपी अधिकारीलाई यो बिचमा विवादमा ल्याउने प्रयास पनि भयो । त्यतिमात्र नभएर काठमाडौंको जिम्मेवारी सम्हालेको छोटो समयमै अधिकारीलाई जिम्मेवारीविहीन बनाउन समेत केही विचौलियाहरु लागिपरे ।
उनको छोटो कार्यकालमै राजावादीहरुको आन्दोलनदेखि शिक्षकहरुको आन्दोलनले उग्र रुप लियो । जतिबेला प्रहरीले हवाई फायरदेखि गोलीसम्म नै चलाउनुपरेको थियो । प्रहरीले गोली चलाउँदा एकजनाको ज्यान गएको थियो, जुन विषयलाई लिएर एसएसपी अधिकारीलाई विवादित बनाउने काम भयो ।
आफ्नो काममा अडिग स्वभावका एसएसपी अधिकारीलाई प्रहरी नेतृत्वको पूर्ण समर्थन थियो । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले एसएसपी अधिकारीको कमाण्डमा जतिबेला प्रहरीले संयमितता अपनाएकाले ठूलो दुर्घटना हुनबाट जोगिएको प्रष्टिकरण दिए । थापाको भनाइपछि झनै अधिकारी कहिँकतै नचुकेको पुष्टि भयो ।
एसएसपी अधिकारीलाई विवादमा ल्याउन खोज्नुको कारण थियो, बढुवाबाट बन्चित गराउन । उनी प्रहरी नायब महानिरीक्षक (डिआईजी) बढुवाको दौडमा छन् । जतिबेला आफ्नो ब्याचबाट एक नम्बरमा रहेका एसएसपी अधिकारीलाई डिआईजी बढुवामा रोक्न ठूलै विचौलियाहरुले शक्तिकेन्द्र चहारेका थिए ।
उनलाई फसाउन विचौलियाहरुले कुनैपनि हत्कन्डा बाँकी राखेन, तैपनि एसएसपी अधिकारी निर्भिक अडानका साथ चट्टान जस्तै बनेर विचौलियाका सबै प्रहारलाई निस्तेज पार्दै अहिलेको अवस्थामा आइपुगेका हुन् ।

अब्बल कमाण्डरको ट्याग
प्रहरी सहायक निरीक्षक (असई)बाट प्रहरी सेवामा प्रवेश गरेका अधिकारी सुरुदेखि नै उत्कृष्ट काम गर्ने प्रहरी अधिकृतको रुपमा चिनिएका थिए । कमाण्ड, कन्ट्रोल र अनुसन्धानमा अब्बल मानिएका उनले जहाँ गए त्यहाँ आफ्नो अलग छाप बनाउदै अघि बढदै गए र हरेक मिसनमा उनी सफल हुँदै गएका थिए ।
एक्सन ओरिएन्टेड, सफल, असल, काबिल र इमान्दार प्रहरी अफिसर उनै अधिकारीले प्रहरी उपरीक्षक (एसपी)मा दुईवटा जिल्लाको सफल कमाण्ड सम्हाले, मोरङ र कैलाली । यस्तै प्रहरी नायब उपरीक्षक (डिएसपी)मा सिनधुपाल्चोक प्रहरीको कमाण्ड सम्हाले । तीनवटै जिल्लामा उनले गरेको कामको अहिले पनि प्रशंसा हुने गरेको छ ।
खुल्ला सिमा नाका, प्रदेश १ कै राजधानी अनि राजनीतिको केन्द्र, भीभीआईपीहरुको गढ समेत मानिने मोरङमा एसपीमा उनको सरुवा भएपछि उनले सम्पूर्ण कार्यलाई कसरी सम्पादन गर्ने भन्ने बिषय जटिल नै थियो भन्दा फरक नपर्ला ।
जतिबेला कोरोना महामारी थियो । जतिबेला उनी कोरोना भाइरसको महामारीमा सावधानीपूर्वक प्रहरीको स्वास्थ्यको ख्याल गर्दै अपराध अनुसन्धान एवम कानुन कार्यन्वयनमा निरन्तर आफ्नो कर्तव्यमा कर्मठ देखिए ।
त्यस्तै कैलाली जिल्लाको कमाण्डमा समेत उनले आफनो प्रतिबद्धता र प्राथमिकतामा खरो उत्रिए । जसले गर्दा कैलालीका जनताले सुरक्षा अनुभूति गर्न पाए । यस्तै अधिकारी सिन्धुपाल्चोक प्रहरीको कमाण्डमा पनि कहिँकतै चुकेनन् ।
तीनवटै जिल्लाका दूरदराजबाट उनको नाम र काम गर्ने शैलीले गर्दा न्यायको आशमा प्रहरी कार्यालयमा गरीब, असहाय, महिला तथा सर्वसाधारणको भीड लाग्थ्यो ।
प्रहरी संगठनलाई चलायमान र आफ्नो पेसाप्रतिको आशातीत अडानले गर्दा एसएसपी अधिकारीले अपराध अनुसन्धानमा अब्बल उच्च प्रहरी अधिकृतको छवि बनाएका छन् ।
एसएसपी अधिकारी त्यस्ता प्रहरी अधिकृत हुन्, जसले प्रहरी संगठनभित्रै कानुनमा मास्टर्स गर्ने पहिलो व्यक्ति हुन् । उनले १८ वटा देशका प्रहरी अधिकृतहरुलाई समेत अध्धयन गराउनुको साथै तालिम समेत दिएका छन् ।
नेपाल प्रहरीको ‘प्रहरी मेरो साथी’ नाराका उनी अवधारणाकर्ता समेत हुन् । त्यसैले एक काविल प्रहरी अफिसरको पहिचान बनाएका एसएसपी अधिकारीको शान्त समाज निर्माणमा महत्वपूर्ण योगदान छ भन्दा फरक नपर्ला ।

काठमाडौंमा के गरिरहेका छन् ?
त्यसो भए काठमाडौंवासीको सुरक्षाको ग्यारेन्टी लिएका एसएसपी अधिकारी यतिबेला के गरिरहेका छन् त ? काठमाडौंको कमाण्ड सम्हालेको छोटो अवधिमै उल्लेख्य संख्यामा अपराधमा संलग्नहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन सफल भएका छन् ।
विभिन्न आपराधिक गतिविधिमा संलग्न रही फरार रहँदै आएका प्रतिवादीहरुलाई पक्राउ गरी कानुनी दायरमा ल्याउने काम समेत भएको छ ।
अधिकारीले परिसरको कमाण्ड सम्हालेदेखि अदालतको फैसला कार्यान्वयनका लागि फरार प्रतिवादीलाई पक्राउ गर्ने विशेष अभियान नै चलाइरहेका छन् । कुनै अपराधमा संलग्न भएर पक्राउ नपरेकाहरू लुकीछिपी बसेको भए तत्काल जानकारी दिन पनि एसएसपी अधिकारीले अनुरोध गरे ।
‘अपराध गरेर फरार बनेका व्यक्तिका बारेमा सूचना दिनेको परिचय गोप्य राखिने छ,’ उनले भने, ‘प्रतिवादीलाई भने पक्राउ गरेर कानुनको दायरामा ल्याइने छ ।’ उनले फरार प्रतिवादीहरूलाई पक्राउ गर्दा सामाजमा सकारात्मक सन्देश जानुका साथै फैसला कार्यान्वयनमा समेत सघाउ पुग्ने बताए ।
नागरिकले शान्ति सुरक्षा प्रत्याभूत गर्न सक्ने वातावरण बनाउनको लागि काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि एसएसपी अधिकारीले ‘अपरेसन ९’ योजना अगाडि बढाएका थिए । जुन योजना अहिले पनि कार्यन्वयन भइरहेको अधिकारी बताउँछन् ।
त्यतिमात्र नभएर उनी राम्रो काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्न र नराम्रो काम गर्नेलाई कारबाही गर्नबाट समेत पछि हटेका छैनन् । जहाँ कार्यरत रहेपनि उनी प्रहरीको संगठन भित्रै बसेर निति नियम बनाउनमा पनि व्यस्त छन् ।
आफ्नो अडानमा प्रतिबद्ध एसएसपी अधिकारीले काठमाडौंवासीको सुरक्षामा दिनरात नभनी अहोरात्र खटिएर काम गरेका छन् । मातहतका प्रहरी कार्यालयहरुमा बेला बेला आफैं छड्के समेत जाने गर्छन् । जसले गर्दा देश र जनताको सुरक्षामा खटिने प्रहरी चनाख हुने गर्छन् ।
डिआईजी बढुवाको दौडमा
हाल प्रहरी संगठनमा १० वटा डिआईजी पद रिक्त छ । जसको लागि २ दर्जन बढी एसएसपीहरु प्रतिस्पर्धामा छन् । त्यसमध्येका एक हुन् एसएसपी अधिकारी । आफ्नो ब्याचबाट एक नम्बरमा रहेका अधिकारीलाई डिआईजी बढुवामा अगाडि ल्याउन प्रहरी नेतृत्वसमेत सकारात्मक रहेको स्रोत बताउँछ ।
त्यसपछि डिआईजीको दौडमा भुपेन्द्र खत्री, सानुराम भट्टराई, सोमेन्द्र सिंह राठौर, विनोद घिमिरे, गंगा पन्त, तारादेवी थापालगायत छन् । उनीहरु सबै प्रहरी संगठनमा अब्बल प्रहरी अधिकृतहरु हुन् ।
