काठमाडौं । काठमाडौं महानगरपालिका–१४ स्थित कलंकीमा इन्स्ट्राग्राममा कुरा भएका ‘केटी साथी’लाई भेट्न जाँदा दुई जना युवक लुटिएका छन् ।
वैशाख २६ मा अमेरिकाको भिसा लागेर बसेका एक जना युवक र उनका साथी कलंकीस्थित मेन्स होटलमा लुटिएका हुन् । गिरोहले उनीहरूलाई दुई जना महिला प्रयोग गरेर ‘हनीट्रयाप’मा पारेर लुटपाट गरेका हुन् ।
गिरोहका सदस्यहरूले उनीहरूबाट ३ लाख ६३ हजार लुटेर हिँडेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । लुटमा संलग्न आरोपमा ८ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नवलपरासीको देवचुली घर भएका सन्दीप परियार, चितवनको भरतपुर घर भएका २५ वर्षीय सन्दीप बिक, २५ वर्षीय अतीत क्षेत्री, २२ वर्षीय बादल तामाङ, गैँडाकोट घर भएका अनीश केसी, चितवनकै विवेक मल्ल ठकुरी, लमजुङ घर भएकी सक्रिया खनिया र सुनसरी घर भएर कपन बस्ने कविता राई छन् ।
टोखामा बस्दै आएका १८ वर्षीया सक्रियाले इन्स्ट्राग्राममा एक जना युवकलाई साथी बनाउँछिन् र कुरा गर्न थाल्छिन् । करिब डेढ महिनापछि भेट्न बोलाउँदै भन्छिन्, ‘कलंकीमा भेटौँ न ।’
युवक राजी हुन्छन् । सक्रियाले थप्छिन्, ‘म एक्लै आउँदिन कविता भन्ने मेरो एक जना साथी छ, उसलाई पनि लिएर आउँछु ।’ त्यसपछि युवक पनि अर्का साथी लिएर कलंकीस्थित होटल मेन्समा पुग्छन् ।
होटलको रुममा पस्नासाथ आए ‘नक्कली प्रहरी’
होटल मेन्समा पुगेको केही बेरामा बाहिरबाट आवाज आयो, ‘हामी प्रहरी हौँ, ढोका खोल् ।’ ढोका खोलेपछि ४ जना पुरुषले दुई युवकको साथमा भएको मोबाइल र पैसा टेबलमा राख्न लगाए ।
फोटो खिच्दै भने, ‘हामी प्रहरी हौं ।’ तीमध्ये एक जनाले मोबाइलमा वानएक्स बेट एप डाउनलोड गरेका रहेछन् । त्यो देखाउँदै नक्कली प्रहरीले भने, ‘अब जुवा मुद्दामा पनि फसाउँछौँ ।’
जोगिने भए आफूसँग भएको रकम दिन उनीहरूले आग्रह गरे । अनलाइनमार्फत खाता चेक गरेर ३ लाख नगद ट्रान्सफर गरे । अनि, ६३ हजार नगद हातमा लिएपछि भने, ‘कतै हल्ला गर्ने होइन ।’
कोठाबाट ओर्लिएपछि महिलाहरू पनि आपसमा अंकमाल गरेर निस्किए ।
