काठमाडौं । नेपाली सेनाका पूर्व जमदार आत्माराम थापा कारागार चलान भएका छन् । सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिनामा संलग्न रहेको अभियोगमा उनलाई थुनामा पठाइएको हो ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश डा. दिवाकर भट्टको इजलासले आइतबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
अवकाश भइसकेका दुई सैनिकविरुद्ध जिल्ला अदालतमा अभियोग दर्ता भएको छ । तर बहालवाला दुई सैनिकमाथि भने सेना आफैँले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
सहायक रथी (ब्रिगेडियर जनरल) रोशन खड्का र सेनानी (मेजर) बोधराज कार्कीलाई सैनिक हिरासतमा राखेर छानबिन गरिरहेको सेनाले जनाएको छ ।
कोर्ट अफ इन्क्वाएरीको क्रममा हिनामिनामा उनीहरुको संलग्नता पुष्टि भएपछि कोर्ट मार्सलको प्रक्रिया अगाडि बढेको छ भने सैनिक ऐन अनुसार कारबाहीको दायरामा नपर्ने अवकाश भइसकेका २ जनालाई कारबाहीको जिम्मा प्रहरीलाई दिइएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धानपछि अवकाशप्राप्त दुई जनाविरुद्ध पनि अदालतमा मुद्दा दायर भएको छ ।
उनीहरु यसअघि सैनिक कल्याणकारी कोषमा कार्यरत रहँदा चारजनाले सवा २ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ । नेपाली सेनाले कोर्ट अफ इन्क्वाएरी (आन्तरिक छानबिन)का क्रममा उनीहरुको पनि संलग्नता पुष्टि भएपछि थप कारबाहीका लागि काठमाडौँ प्रहरीलाई जिम्मा लगाएको थियो ।
प्रहरीले सेनाको जमदारबाट अवकाश भइसकेका आत्मराम थापालाई पक्राउ गरे पनि अधिकारी भने अमेरिका पुगिसकेका छन् ।
