काठमाडौं । गृहमन्त्री रमेश लेखकको साथी भएको भन्दै धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–३ बस्ने ५० वर्षीय राजकुमार श्रेष्ठ छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार श्रेष्ठले गृहमन्त्रीको साथी भन्दै विभिन्न कार्यालयका कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरूलाई टेलिफोनमार्फत गाली गलौच तथा डरत्रास, धाकधम्की दिने गरेका थिए ।
उनले दैनिक काम काजमा समेत वाधा अवरोध गरेको भन्ने सूचनाको आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुका बनेपा नगरपालिका–८ तीनदोबाटोबाट श्रेष्ठलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक आचार्यको भनाई छ ।
श्रेष्ठलाई मुलुकी अपराध संहिताको परिच्छेद २ को दफा ८५ बमोजिम राष्ट्रसेवक कर्मचारीलाई काम काजमा बाधा विरोध गर्न नहुने कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।
