वीरगन्ज । सिमानाकामा तस्करी र अपराधको घटना हुने कुनै नौलो कुरा होइन । शान्ति सुरक्षा र आपराध नियन्त्रणको लागि खटाएको प्रहरी टोली नै तस्करीमा लिप्त भएपछि आपरिधिक गतिविधि बढनु स्वाभाविक नै हो ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट सादा पोसाकमा सूचना संकलनको लागि खटिएको प्रहरी जवान छोटेलाल पटेलले आर्थिक आतंक मच्चाएका छन् । सिम्रौनगढमा कार्यरत प्रहरी जवान पटेलको आर्थिक आंतकले अहिले सो क्षेत्रमा सर्वसाधारणहरु आतंकित भएको समाचार प्राप्त भएको छ ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट सादा पोशाकमा सुचना संकलनको लागि खटिएको पटेलको संरक्षणमा लत्ताकपडा, हार्डवेयर, किराना सामान, जुत्ताचप्पल, धान, माछा, कुखुराको तयारी मासु र मकैको तस्करी व्यापक रुपमा संचालनमा आएको छ ।
पटेलले मातहतभित्र रहेका किराना, मदिरा पसलहरुमा पुगी मासिक रकम उठाउने गरेको पीडिततहरुले जानकारी गराएका छन् । प्रहरी जवान पटेलले सूचना संकलनको बहानामा आर्थिक संकलनमा व्यस्त रहने गरेको प्रहरी स्रोतले दाबी गरेको छ ।
इप्रका सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) पवन प्रसाईं हुन् । इन्स्पेक्टर प्रसाईंको विश्वासपात्र प्रहरी जवान पटेल रहेका छन् । विश्वासपात्र पटेललाई इन्स्पेक्टर प्रसाईले घुमुवा परिचालन गरि तस्करी गराएबापत तस्करहरुबाट लाखौं रुपैया बुझने गरेका छन् ।
घुमुवा पटेल अहिले सो क्षेत्रमा रहेका सिमानाकाहरुमा आर्थिक ताण्डव मच्चाएका छन् । घुमुवा जवान पटेलले इप्रका सिम्रौनगढको मातहत पर्ने पथालवाघाट, पिपरपाती, बैरिया, बेलदारी, खज्जानी र कोचोर्वा चौकीका इन्चार्जहरुसँग समन्वय गरि इन्स्पेक्टर प्रसाईंको नाममा समेत रकम बुझने गरेको नाम नछाप्ने सर्तमा एक प्रहरी जवानले बताए ।
घुमुवा पटेलले प्रहरी निरीक्षक प्रसाईंको नाममा लाखौं रुपैयाको नजराना बुझि सिम्रौनगढ नाकाबाट भोला र दिपकको ग्रुपले ५/७ वटा मोटरसाइकलमा कपडा र संदिप ग्रुपले तयारी कुखुरा र लत्ताकपडाको १०/१२ वटा मोटरसाइकलमा काम गर्ने छुट गरेका छन् ।
त्यसैगरी अमरपुर नाकाबाट दिपक कपडाको, बैरिया नाकाबाट धानको बिऊ र मलको प्रमोद, राजु, उपेन्द्र र राजुको समूहले ठुलो मात्रामा तस्करीको लाइन खुल्ला गर्का छन् भने कवलपुरघाटबाट राजकुमार र अखलेशको ट्याकटरबाट धानको तस्करी हुँदै आएको छ ।
विगत दुई बर्षदेखि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा कार्यरत रहेका प्रहरी जवान सादा पोशाकमा खटि सिमानाकामा हुने विभिन्न किसिमको अवैध सामान ओसारपोसार गर्न व्यापारी तथा मदिरा भठ्ठीहरुबाट लाखौं रुपैया इन्स्पेक्टरदेखि एसपीसम्मको रकम असुल्दै आएको स्थानीयहरुले बताएका छन् ।
