काठमाडौं । पुर्व–पश्चिम राजमार्ग भएर आवतजावत गर्ने सवारी साधनका चालकसँग ट्राफिक व्यवस्थापनमा खटिएका सर्लाही ट्राफिक प्रहरीहरुले अनेकन बहानामा रकम असुल्ने र रकम नदिए दुःख दिने गर्दै आएको पाइएको छ ।
हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख रजोस घिमिरे छन् । उनले आफ्ना केही ट्राफिक प्रहरीलाई विश्वासपात्रका रुपमा परिचालन गरेर रकम असुली गरिरहेको विश्वस्त स्रोत बताउँछ ।
भारतीय नम्बरको गाडीहरूबाट विभिन्न चेकजाँचको बहानामा रकम असुल्ने गरेको कुरा केहीसमय अघि विभिन्न संचारमाध्यममा समाचार आएको थियो । भारतबाट आउने मालवाहक ट्रकहरुमध्ये अधिकांश सवारी साधन ओभरलोड नै आउने गर्छ र ट्राफिकसँग समन्वय गरि एजेन्टहरुले मालवाहक सवारीका साहुसँग ठेक्का मिलाई पास गराउँदै आएका छन् ।
भारतबाट आएका सबै गाडीहरुबाट विभिन्न बहाना लगाएर पैसा असुल्ने गरेको स्रोत बताउँछ ।
स्रोतका अनुसार मोटरसाइकलदेखि लिएर ठुला-ठुला मालबाहक ट्रकहरुसँग सबै भन्सारदेखि लिएर सबै कगजपत्र हुँदाहुँदै पनि पैसाका लागि सर्लाही ट्राफिकले जबर्जस्ती घण्टौसम्म गाडी रोकिदिने गरेको पाइएको छ ।
अस्थाई ट्राफिक प्रहरी कार्यालय नायारोडमा कार्यरत प्रहरीहरुले त सोही ठाउँमा रहेका धर्मकाँटामा रहेक ओभरलोड रहेको गाडीसँग जरिवाना नतिराई पैसा असुल्ने गरेको पनि खुलेको छ । त्यस्तो कार्यमा प्रमुख घिमिरेका विश्वासपात्र खटिने गरेका छन् ।
मालवाहक सवारीसाधनको ‘भारवहन नियम सम्बन्धी निर्देशिका २०७४’ मा तोकिएको क्षमताभन्दा बढी भार बोकेको पाइएमा त्यस्ता मालवाहक साधनलाई जरीवाना गरी बढी भएको मालसामान झार्नुपर्ने व्यवस्था हुनुका साथै यातायात कार्यालयबाट १ टन बराबर १००० रुपैयाँको पटके कटाउने सुविधा रहेको छ । सोही कानूनमा टेकेर जाँचमा खटिएका ट्राफिक प्रहरीले ट्रक चालकसँग अनाधिकृत रूपमा रकम असुल्ने गरेका हुन् ।
यतिसम्म कि जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीमै कार्यरत केही ट्राफिक प्रहरीले छिमेकी देश भारतबाट आएका पर्यटकीय बस चालकसँग आवश्यक कागजपत्र सबै भएपनि पैसाका लागि उनीहरुलाई घण्टौंसम्म रोकेर दुःख दिने गरेका छन् ।
व्यापक असुलि गरेको गुनासो बढेपछि सरकारले विद्युतिय भुक्तानी प्रणालि लागु गरे पनि सर्लाही ट्राफिक प्रहरीको असुली धन्दा अझै रोकिएको छैन् । त्यसैले अहिले मालवाहक ट्रक, ट्यांकर तथा ट्रिपर व्यवसायीहरू सर्लाही ट्राफिकसँग आजित बन्न थालेका छन् ।
पूर्व पश्चिम राजमार्गमा चल्ने हल्का यात्रुवाहक सवारी साधान (म्याजिक, विङ्गर), बजार क्षेत्रबाट गाउँ पुर्याउने तीन पाङ्ग्रे सवारी साधान, ओभरलोड बोक्ने ट्रक–टिफर, ट्याक्टरहरुसँग मासिक असुलि गर्ने प्रकृया अझै नरोकिएको व्यसायीहरु स्वयम् बताउँछन् ।
म्याजिक र विङ्गरहरुले क्षमताभन्दा बढी बोक्न पाउने सुविधा बापत व्यवसायी संघबाटै प्रत्येक महिनामा एक मूष्ट रकम जाने गरेको नाम नबताउने सर्तमा एक सवारी संघका पदाधिकारीले बताए । उनले भने, ‘यसरी नै चल्दै आएको छ । दक्षिणा नटक्र्याए विभिन्न बाहानामा दुःख दिने गर्छ । त्यसैले पनि सबैबाट थोरै थोरै उठाएर हामीले ट्राफिकलाई दिने गरेका छौं ।’
दिनभरी गाडी चलाएर ड्राइभर, खलासी, तेलको लागत कट्टा गरी मुस्किलले हजार १५ सय हात पर्ने गरेको बागमतीबाट लालबन्दी सम्म चल्ने एक म्याजिक व्यवसायीले बताए । उनले भने, ‘दिनभर सडकमा गाडी कुदेर घर फर्कदाँ आफ्नो हातमा पर्ने रकमको टुङ्गो हुँदैन तर, संगठनमा रकम बुझाउनै पर्छ ।’
त्यसैगरी, ओभरलोड गरेर हिँड्ने प्रत्येक ट्रकले मासिक एकदेखि दुई हजार, ट्याक्टले एक हजारदेखि १५ सयसम्म बुझाउनु पर्ने बाध्यता नै रहेको व्यसायीहरु गुनासो गर्छन् । व्यवसायीहरु बताउँछन, ‘थोरै लोड गरे पनि पोसाउँदैन, ओभरलोड गर्दा अलिकति फाइदा हुन्छ की भन्ने हो । त्यो पनि बाटोको ट्राफिक नमिलाई हुन्न् ।’
आर्थिक मन्दिका कारण मुस्किलले उद्योग चलाइरहेका सर्लाहीका इँटा व्यसायीहरु ट्राफिक प्रहरीको असुलि धन्दाको मारमा परेको बताउँछन् । उनीहरुले आफ्नो इँटा पुग्ने रुटमा सिजनको बेला प्रत्येक महिना १५ सयदेखि तीन हजार एउटा ट्राफिक विटमा बुझाउनु परेको गुनासो गर्छन् ।
सर्लाहीमा १०० भन्दा बढी इँटा उद्योगको करिव पाँच सय ५० वटा भन्दा बढी ट्याक्टर नियमित चल्ने गरेको छ । त्यतिकै संख्यामा सिमेन्ट उद्योगमा चल्ने ट्रक, टिफर छन् । साना सवारीको संख्या भने हजारको आसपासमा रहेको व्यसायीहरु बताउँछन् ।
क्षमताभन्दा बढी भार बोक्ने साधनलाई ट्राफिक प्रहरीले एक हजार पाँच सय रुपैयाँ जरीवाना तिराउन सक्छ । जरीवाना गरेर बढी भार मिलान गरेपछि मात्र जान दिनुपर्नेमा अनाधिकृत रकम लिएर छाड्ने गरेको भेटिएको छ ।
सर्लाही भन्सार कार्यालय मलङ्वा कार्यालयबाट सामान लिएर छुटेका विशेषगरी भारतीय मालवाहक ट्रक तथा लहरीहरुसँग ट्राफिक प्रहरीले सामान र भार हेरेर एक सयदेखि १५ सय रुपैयाँसम्म असुल्ने गरेको भेटिएको छ ।
त्यसैगरी ट्राफिक प्रहरीसँग समन्वय गरि सवारी छुटाउने दलालहरुले पनि प्रति गाडी १ हजार देखि १५ सयसम्म लिई ट्राफिक र दलालहरुले भागबण्डा मिलाउने गरेको पनि खुलेको छ ।
दलालहरुबाट समन्वय गरेका गाडीहरुलाई भने ट्राफिक प्रहरीले बिना चेकजाँच काउन्ट गरेर पठाउने गरेको चोकमा बस्ने जो कोहीले पनि देख्न सक्छ ।
