काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापा र प्रहरी श्रीमती संघकी अध्यक्ष रुपा थापाले काठमाडौं रानीवनस्थित मानवसेवा आश्रमको अवलोकन भ्रमण गरेका छन् ।
अवलोकनसँगै उनीहरुले मानव सेवा आश्रमका अनाथ, असहाय तथा वृद्धवृद्धालाई भोजन गराएका थिए । उक्त भ्रमणको क्रममा आईजीपी थापाले मानवसेवा आश्रमको सेवालाई थप उचाइमा पु¥याउने प्रतिवद्धता व्यक्त गरे ।
यसअघि पनि नेपाल प्रहरीले मानव सेवा आश्रमलाई सक्दो सहयोग गर्दै आइरहेको छ ।
आश्रमको अवलोकन भ्रमण गरिनुले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण अभियानलाई सफल बनाउन इमान्दारीसाथ प्रयत्न गरिरहेको अनुभूति भएको मानवसेवा आश्रमका सचिव सुमन बर्तौलाले बताए ।
मानवसेवा आश्रम २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्यसहित २०६९ सालदेखि नै देशव्यापीरुपमा सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन विताउन विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारिरीक तथा मानसिकरुपमा अति कमजोर मानवहरुको उद्धार, उपचार, पालनपोषण एवं पारिवारीक पुनर्मिलनको सेवामा समर्पित हुँदै आइरहेको सामाजिक संस्था हो ।
हाल देशभर १९ जिल्लामा २४ ओटा सेवा केन्द्र सञ्चालनमा रहेको आश्रमले ७७ जिल्लाबाट सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गर्दै आइरहेको छ ।
हाल देशभरका मानवसेवा आश्रममा १ हजार ७८३ जना रहेका छन् । जसमध्ये ७६५ जना महिला र एक हजार १८ जना पुरुष छन् ।
