काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) डम्बरबहादुर विकले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
डिआईजी विकले शुक्रबार प्रदेश प्रहरी गण धनगढीको निरीक्षण गर्दै उनले आपसी सद्भाव, सामूहिक भावना र असल आचरणलाई प्रहरी सेवाको आधार मान्दै सेवा प्रवाहमा इमान्दारिता र अनुशासनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए ।
डिआईजी विकले संगठनको मिडिया नीति विपरीत सामाजिक सञ्जालको दुरुपयोग नगर्न, गैह्र व्यवसायिक आर्थिक क्रियाकलापमा संलग्न नहुन र प्रहरी आचरण विपरीत कुनै पनि गतिविधिमा नलाग्न चेतावनी दिए ।
साथै बल प्रयोगको अवस्था आइपरेमा मानव अधिकारको सम्मान गर्दै व्यावसायिक रूपमा संयमित ढंगले कार्य सम्पादन गर्न निर्देशन दिँदै उनले प्रहरीको मानसिक तथा शारीरिक स्वास्थ्य जोगाउनुपर्नेमा जोड दिए ।
उनले प्रहरी कर्मचारीका व्यक्तिगत वा व्यावसायिक समस्या तथा गुनासा सम्बन्धित निकायमा विधि र प्रक्रिया अनुसार प्रतिवेदन गर्न सकिने र संगठनले त्यसको यथोचित सम्बोधन गर्ने विश्वास पनि व्यक्त गरे ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका सिनियर प्रहरी अधिकृतहरू, गण प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।
