काठमाडौं । सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङ (नीमा तामाङ) नागरिकता र राहदानी किर्तेमा दोषी ठहर भएका छन् ।सुन तस्करी प्रकरणमा पक्राउ परेर अहिले पुर्पक्षका लागि कारागारमा रहेका दावालाई काभ्रे जिल्ला अदालतले दोषी ठहर गरेको हो ।
काभ्रे जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले झुटा विवरण पेस गरी नागरिकता र राहदानी लिने सुन तस्करीमा संलग्न चिनियाँ मुलका बेल्जियम नागरिक दावालाई दोषी ठहर गरेको हो ।नागरिकता सम्बन्धी मुद्दामा ५ वर्ष कैद र १ लाख जरिवाना र राहदानी सम्बन्धी मुद्दामा ३ वर्ष कैद र ३० हजार जरिवानाको फैसला भएको छ ।
यसैगरी, चितवनका राजु गुरुङ, कर्मचारी झपेन्द्रराज खरेललाई झुठा विवरण पेश गरी दोहोरो राहदानी दिने र लिने दुवैलाई जनही १५ हजार जरिवाना र १ वर्ष १ महिना कैद सजायको फैसला भएको अदालतका श्रेस्तेदार कर्णबहादुर राईले जानकारी दिए ।
तर, नागरिकताको हकमा भने राजु गुरुङ, कर्मचारीद्वय झपेन्द्रराज खरेल र रामचन्द्र अर्याललाई जनही १५ हजार जरिवाना गर्ने फैसला सुनाएको छ । राजु गुरुङलाई नागरिकता बेच्ने ठाउँ देखाउने राजुका बुबा हरिभक्त गुरुङलाई सफाइ दिइएको छ ।
