काठमाडौं । दाङमा बाबु पुनको नामबाट गुण्डा नाइकेका रुपमा चिनिने पूर्ण बहादुर पुनले हालै सरुवा भएर जान लागेका जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख राजेश शाहीलाई बिदाई गरेको पाइएको छ ।
गुण्डा नाइके पुनले प्रहरी निरीक्षक (इन्स्पेक्टर) शाहीलाई विदाई गरेको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । गुण्डा नाइकेसँग हिमचिम बढाउने इन्स्पेक्टर शाही आफैंमा विवादति अधिकृत हुन् । उनलाई पुनले कार्यकक्षमा गएरै विदाई गरेका हुन् ।
कुनैबेला तत्कालिन जिल्ला प्रहरी प्रमुखहरुले आपराधिक पृष्ठभूमिका पुनलाई पक्राउ गरेर कानुनी दायरमा ल्याएका थिए । तर, इन्स्पेक्टर शाहीले कार्यकक्षमै भेट दिनुले उनीहरुबीच लेनादेना समेत हुनसक्ने शंका उब्जिएको छ ।
इन्स्पेक्टर शाहीलाई भेट्न जाँदा पुनसँगै साथमा घोराही नगर प्रहरी प्रमुख पनि रहेका छन् । उक्त तस्बिर इन्स्पेक्टर शाही आफैंले विदाईको क्रममा भनेर फेसबुकमा राखेका छन् । जुन स्क्रिनसर्ट तल हेर्नुहोला ।

उनै पुन भदौ २९, २०७४ मा दाङ प्रहरीको अपराध नियन्त्रण तथा गुण्डागर्दी नियन्त्रण बिशेष अभियान अन्तरगत घोराहीबाट पक्राउ परेका थिए । तत्कालिन दाङ प्रहरी प्रमुख दुर्गा सिंहले पुनलाई संगठित अपराध अन्तरगत मुद्धा चलाएकी थिइन् ।
जतिबेला विकास पुनको जाहेरीमा प्रहरीले बाबुलाई समातेको हो । पुनलाई २०७३ कात्तिक १८ गते बाबुको नेतृत्वमा आएको समूहले धारिलो हतियार प्रहार गरेर लुटपात समेत गरेको भन्दै पुनले दिएको जाहेरीको आधारमा बाबुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको थियो ।
यस्तै २०७७ साउन १९ पनि ठगी र मिटर ब्याजको आरोपमा पुन पक्राउ परेका थिए । तत्कालिन जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले ठगी र मिटर ब्याजको आरोपमा घोराही बजारवाट पुनलाई पक्राउ गरेर मुद्दा चलाएका थिए ।
उनी अर्का गुन्डा नाइके विकास पुनको ग्याङवाट छुट्टिएर आफ्नो छुट्टै ग्याङ बनाएर धम्क्याउने गर्छन् । तत्कालिन दाङका एसपी धिरजप्रताप सिंहको कार्यकालमा दाङको गुन्डागर्दी पुरै नियन्त्रणमा ल्याएका थिए ।
पछिल्लो समय प्रहरीको कमजोर भुमिकाले भित्रभित्रै सुसुप्त अवस्थामा रहेको गुन्डागर्दी फेरि मौलाउन सुरु गरेको छ । ढुङ्गा, गिट्टी र धम्क्याउने गुन्डानाइके बाबु पुनको पेशा बनेपनि सम्बन्धित निकाय मौन बसेको छ ।
