काठमाडौं । २४सै घण्टा देश र जनताको सुरक्षामा खटिने नेपाली प्रहरीलाई दिइने सहुलियत कर्जाको सीमा बढाइएको छ भने ब्याजदर घटाइएको छ । नेपाल प्रहरीले कल्याणकारी कोषमार्फत प्रहरी कर्मचारीका सेवा–सुविधा थप गरिएको हो ।
प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले कार्यभार सम्हालेकै दिन गत ५ चैतमा प्रहरीको कल्याणकारी सुविधा थप गर्ने निर्णय गरेका थिए । सोहीअनुसार कार्यान्वयन सुरु गरिएको प्रहरी प्रवक्ता रमेश थापाले बताए ।
गत १६ वैशाखदेखि विशेष सहुलियत कर्जालाई ४ लाखबाट ५ लाख बनाइएको छ । तलबबाट किस्ता तिर्ने गरी यस्तो कर्जा दिने गरिन्छ । सोहीदन नै बसेको कल्याणकारी बोर्डले यस सम्बन्धमा औपचारिक निर्णय गरेर कार्यान्वयनमा लगेको हो ।
यस्तै घर निर्माणका लागि यसअघि कोषबाट १० लाखसम्म दिइनेमा बढाएर घर निर्माण तथा खरिद शीर्षकमा २० लाखसम्म दिने निर्णय भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
विशेष सहुलियत र घर कर्जाको ब्याजदर भने घटाइएको छ । यस्तो कर्जामा यसअघि सात प्रतिशत ब्याजदर रहेकोमा घटाएर ६ प्रतिशत बनाइएको छ ।
राष्ट्रिय वाणिज्य बैंकबाट पनि प्रहरी कर्मचारीले घर निर्माणदेखि व्यवसाय गर्नसमेत सहुलियतपूर्ण कर्जा दिने समझदारी गत १ वैशाखदेखि कार्यान्वयनमा लगिएको छ । जसअनुसार बहालवाला तथा अवकाशप्राप्त प्रहरीले ५० लाख रुपैयाँसम्म घर कर्जा पाउनेछन् ।
‘बहालवाला तथा अवकाशप्राप्त प्रहरीका लागि सेवा–सुविधा थप गर्ने काम भइरहेको छ,’ प्रवक्ता थापाले भने, ‘केही निर्णय भइसकेका छन्, केही छलफलका क्रममा छन् ।’
