काठमाडौं । सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआईजी) बढुवा प्रक्रियाका लागि आवश्यक प्रक्रिया अगाडि बढाएपछि अहिले नेपाल प्रहरीमा बढुवाको सरगर्मी ह्वात्तै बढेको छ ।
जनपदतर्फ डिआईजीको संख्या २० रहेको छ । जसमध्ये १० वटा डिआईजीको पद रिक्त रहेको छ । सरकारले डिआईजी बढुवाको तयारी थालेपछि अहिले प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)हरुबीच दौडधुप चलेको छ ।
१० डिआईजी पदको लागि अहिले बढुवाका लागि दुई फरक पृष्ठभूमिबाट आएका एसएसपीहरूबीच प्रतिस्पर्धा चर्किएको छ । एकातिर नियमित प्रक्रियाबाट सेवा प्रवेश गरेका ‘११२ टोली’का अधिकृतहरू छन् भने अर्कातिर राअविबाट समायोजन भएर आएका अधिकारीहरू बढुवाको दौडमा छन् ।
हालको बढुवा प्रक्रियामा आफूहरू अन्यायमा परेको भन्दै राअवि समायोजन समूहले लविङ तीव्र पारेको बताइन्छ । उता, ११२ टोली भने प्रहरी नियमावलीअनुसारको बरीयता कायम गर्नुपर्ने अडानमा छन् ।
नियमावलीअनुसार समायोजित अधिकृतहरू प्रहरी निरीक्षकमा ढिलो नियुक्ति भएकाले बरीयतामा पछि परेका हुन् । यद्यपि, सर्वोच्च अदालतको फैसला र समायोजन प्रक्रियाको निरन्तरताले उनीहरूलाई बिस्तारै बढुवा मिल्दै आएको छ ।
अहिलेको डिआईजी बढुवामा पर्ने अधिकृतहरूले आगामी तीन वर्षभित्र नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने सम्भावना उच्च रहेकाले यो प्रतिस्पर्धा अत्यन्तै संवेदनशील र रणनीतिक बनिरहेको छ । कार्यसम्पादन मूल्यांकन, सेवाअवधि, बरीयता, विवादरहित रेकर्ड लगायतका मापदण्डहरू प्रमुख आधार हुनेछन् ।
११२को टोलीका प्रतिस्पर्धी
१. विश्व अधिकारी
२. भुपेन्द्र खत्री
३. सानुराम भट्टराई
४. ओमप्रसाद अधिकारी
५. शेखर खनाल
६. अभिनारायण काफ्ले
७. सोमेन्द्र सिंह राठौर
८. मुकुन्द मरासिनी
९. दिप शमशेर जबरा
१०. गोपाल चन्द्र भट्टराई
११. प्रविण पोखरेल
१२. गंगा पन्त
१३. कृष्ण बहादुर पल्लीमगर
१४. तारादेवी थापा
१५. प्रज्वल महर्जन
यतिबेला माथिका १५ जना डिआईजी बढुवाका दौडमा छन् । उनीहरुमध्ये केही बरियतामा पछि रहेपनि शक्तिकेन्द्र रिझाएर अगाडि आउने दाउमा छन् । तर, २ महिला एसएसपीलाई समेटेर यो टोलीबाट ५ जना बढुवामा पर्ने सम्भावना रहेको स्रोत बताउँछ ।
जसमध्ये आफ्नो टोलीबाट एक नम्बरमा रहेका अधिकारी, दोस्रो नम्बरका खत्री, तेस्रो नम्बरका भट्टराई, छैटौं नम्बरका राठौर, बाह्रौं नम्बरकी पन्त र चौधौ नम्बरकी थापालाई अहिले डिआईजीमा बढुवा गरेर नेतृत्व विकास गर्ने पक्षमा संगठन प्रमुखसमेत लागेका छन् ।
उनीहरु ५ जना नै संगठनमा अब्बल र इमान्दार प्रहरी अधिकृत हुन् । अहिलेको बढुवामा जो एक नम्बरमा बढुवा हुन्छ, उक्त व्यक्ति नै ३४ औं प्रहरी प्रमुख बन्ने निश्नित छ । जसले गर्दा अहिले यो टोलीबाट एक नम्बरमा आउनको लागि चर्को दौडधुप गर्नपरेको छ ।
एक नम्बरका अधिकारी हाल काठमाडौं प्रहरी प्रमुख छन् । उनी संगठनमा अब्बल कमाण्डरको रुपमा परिचित छन् । जसले गर्दा उनलाई वर्तमान सरकारको नजरमा परेका अधिकृत हुन् । त्यसैले उनको सम्भावना बढी छ ।
यसैगरी दोस्रो नम्बरमा खत्री हाल भरतपुर तालिम केन्द्रका समादेशक हुन् । यसअघि काठमाडौं प्रहरी प्रमुखको सफल कमाण्ड गरेका उनी पनि अब्बल अधिकृतभित्र पर्छन् । रौतहट प्रहरी प्रमुख हुँदा अफताब आलमलाई पक्रेर जेल पुर्याएपछि उनको चौतर्फी प्रशंसा भएको थियो । तयसैले उनी संगठन प्रमुखको नजरमा परेका छन् ।
उनले काठमाडौं प्रहरी प्रमुख हुँदा काठमाडौंको शान्ति सुरक्षाको विषयमा राम्रोसँग काम गरेको हुनाले उनलाई सरकारले अगाडि ल्याउने प्रबल सम्भावना रहेको छ ।
यसैगरी तेस्रो नम्बरका एसएसपी भट्टराईले उपत्यका अपराध अनुसन्धान कार्यालयको सफल कमाण्ड सम्हालेको अनुभव छ । उनले आफ्नो कार्यकालमा उपत्यकामा भएका ठूला अपराध अनुसन्धानमा सफलता हासिल गरेका छन् । उनको कार्यसम्पादन राम्रो भएकाले संगठन प्रमुखको मात्र नभएर राज्यको नजरमा समेत उनी परेका हुन् ।
त्यसैगरी अर्का प्रतिस्पर्धी रहेका एसएसपी राठौर पनि संगठनमा अब्बल र खरो स्वभावका अधिकृत हुन् । भीड नियन्त्रणदेखि कठिनाई परेको समयमा उनै राठौरको मद्दतमा टोली पुगेर घटना नियन्त्रणमा ल्याइन्थ्यो । त्यसैले पनि उनीसमेत संगठन प्रमुखको नजरमा परेका अधिकृत हुन् ।
यसैगरी डिआईजीको प्रतिस्पर्धामा रहेका २ महिला एसएसपीद्दय पन्त र थापा पनि संगठनमा इमान्दार अधिकृतहरु हुन् । उनीहरुले समेत दिएको जिम्मेवारी सफल तरिकाले निर्वाह गरेको प्रशस्त उदाहरणहरु छ । त्यसैले उनीहरुलाई अहिले बढुवा गर्दा नेतृत्वको प्रतिस्पर्धीमा समेत सामेल हुन पाउनेछन् ।
गृहमन्त्री रमेश लेखकले डिआईजी बढुवाको सन्दर्भमा नेतृत्व विकास गर्नेगरी संगठन प्रमुख दिपक थापालाई निष्पक्ष निर्णय प्रक्रियालाई प्राथमिकता दिन निर्देशन दिएका छन् । त्यसपछि बाँकी राअविको टोलीबाट बढुवा गर्नेगरी गृहले तयारी थालेको छ ।
राअविको टोलीका प्रतिस्पर्धी
१. ओमबहादुर राना
२. माधव प्रसाद श्रेष्ठ
३. दीपेन्द्र जिसी
४. दिपक रेग्मी
५. दिलिप सिंह देउवा
६. विनोद घिमिरे
७. सुदर्शन प्रसाद कोइराला
८. दिपक कुमार बस्नेत
९. जयराज सापकोटा
१०. सुरेन्द्रबहादुर गुरुङ
११. संजिब शर्मा दास
१२. शारदा प्रसाद चौधरी
११२ टोलीभन्दा एसएसपीमा अगाडि भएपनि राअवि टोलीका अधिकांश अधिकृतहरु विवादमा तानिएका छन् । तर, अहिलेको बढुवामा एक नम्बरमा रहेका राना पर्ने सम्भावना छ । त्यस्तै छैटौं नम्बरमा विनोद घिमिरेलाई समेत छुटाउन नहुने पक्षमा संगठन प्रमुख छन् ।
त्यसैगरी दुई नम्बरका श्रेष्ठ, नवौं नम्बरका सापकोटा पनि बढुवा हुने सम्भावना छ । अन्य एसएसपीहरु केही न केही विवादमा मुछिएकाले उनीहरुको बढुवा हुने सम्भावना कम छ । यद्यपी यो टोलीबाट ४ जना मात्र पर्नसक्ने सम्भावना पनि रहेको गृह स्रोत बताउँछ ।
००००
प्रहरी नियमावली २०७१ को नियम २७ (१) (ख) अनुसार डिआईजीको बढुवा समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष, आईजीपी सदस्य र आईजीपीले तोकेको एआईजी सदस्य सचिव रहन्छन् ।
नियम ३० उपनियम (२) (१) अनुसार बढुवाका लागि बस्ने समितिले ज्येष्ठता, कार्यदक्षता, कार्यसम्पादन मूल्यांकनलाई आधार मानेर बढुवा गर्नुपर्छ ।
कार्य सम्पादन मूल्यांकनबापत ४० अंक, ज्येष्ठताबापत २०, भौगोलिक क्षेत्रमा काम गरेको अनुभवबापत ८, शैक्षिक योग्यताबापत १०, तालिमबापत ७.५, चुनौतीपूर्ण वा विशेष जिम्मेवारीबापत ५, बढुवा समितिले दिने ९.५ अंक गरी सबैभन्दा बढी अंक प्राप्त गर्ने व्यक्तिलाई सिफारिस गर्नुपर्ने प्रावधान छ ।
बढुवा समितिले दिने नम्बरमै चलखेल हुने भएकाले बढुवामा सधैं सोसफोर्स हुने गरेको छ । त्यसैले डिआईजीका आकांक्षीहरु शक्तिकेन्द्र धाउन थालिसकेका छन् । कतिपय त बढुवाको लागि पैसा बोकेर नेताहरुको घरमा समेत पुग्छन् ।
