एजेन्सी । फ्रान्सले आफ्नो समर्थन भारतलाई रहने घोषणा गरेको छ। भारतले बुधबार राति पाकिस्तानमाथि गरेको मिसाइल आक्रमणपछि फ्रान्सको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी आतंकवादविरूद्धको लडाइँमा भारतलाई साथ रहने बताएको हो।
फ्रान्सले पहलगाममा २२ अप्रिलमा भएको आतंकवादी हमलाको पनि निन्दा गरेको छ।
‘फ्रान्स २२ अप्रिलमा पहलगाममा भएको आतंकवादी हमलाको निन्दा गर्दछ र भारतप्रति पूर्ण ऐक्यवद्धता व्यक्त गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘आतंकवाद विरूद्धको लडाइँमा फ्रान्स भारतलाई समर्थन गर्दछ।’
भारतले २२ अप्रिलमा जम्मू-कश्मिरको पहलगाममा एक नेपालीसहित २६ जनाको मृत्यु हुने गरी भएको आतंकवादी हमलाको जबाफमा बुधबार पाकिस्तानमा हमला गरेको बताएको छ।
उसले आतंकवादी समूहका अड्डाहरूलाई लक्ष्य गरेर ९ ठाउँमा मिसाइल आक्रमण गरेको थियो। आक्रमणपछि अमेरिका, चीन, रूसलगायतका देशहरूले दुवै देशलाई संयमता अपनाउन भनेको छ।
तर फ्रान्सले भने आतंकवादविरूद्धको लडाइँमा भनेर भारतलाई साथ रहने बताएको हो।
कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणको जबाफ भारतले बुधबार बिहानै पाकिस्तानमाथि हवाई आक्रमण गरेर दिएको छ।
यो घटनाले आणविक हतियार भएका दुई छिमेकी राष्ट्रबीच ‘पूर्ण’ युद्ध हुने खतरा बढाएको छ।
