चितवन । जिल्ला प्रहरी कार्यालय, चितवनको प्रमुखको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले सम्हालेका छन् । बुधबार कार्यालयमा हाजिर भएर एसपी पुरीले चितवन प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेका हुन् ।
गत हप्ता प्रहरी प्रधान कार्यालयले ६३ जना एसपीको सरुवा गर्दै पुरीलाई चितवन प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी तोकेको थियो । देशको केन्द्र भागमा रहेको चितवनलाई सुरक्षाको दृष्टिकोणबाट संवेदनशिल मानिन्छ ।
विभिन्न स्थानमा प्रमुखको जिम्मेवारी सम्हालेका पुरी संगठनमा इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिन्छन् । उनलाई प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन्द्र खनाललगायत अन्य प्रहरीहरुले स्वागत गरेका थिए ।
कमाण्ड सम्हाल्दै एसपी पुरीले जिल्लामा हुने हरेक अपराधीक कार्यमा कसैको दवाव र प्रभावमा नरही शुन्य शहनशीलतामा काम गर्ने दाबी गरे ।
पुरी यसअघि प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा कार्यरत थिए ।
यसअघि चितवनको प्रहरी प्रमुख रहेका एसपी राजन लिम्बुको झापा सरुवा भएको छ । उनको ३ महिनामै चितवनबाट झापा सरुवा भएको हो ।
