काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलालीको नेतृत्वमा फेरबदल भएको छ । प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टको सरुवासँगै अर्का एसपी बाल नरसिंह राणाले मंगलबारदेखि जिल्ला प्रहरी कार्यालय कैलालीको कमाण्ड सम्हाल्हेका छन् ।
हालै मात्र सरुवा भएर कैलाली पुगेका एसपी राणाले एक औपचारिक समारोहबीच पदभार ग्रहण गरेका छन् । उनलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) नबिन राजा बुढाथोकी, राजकुमार सिंह, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरीहरूले स्वागत गरेका थिए ।
कार्यक्रममा एसपी राणाले आफू जनतामैत्री, पारदर्शी र कडाइका साथ कार्य गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले भने, ‘ कैलाली सुदूरपश्चिमको राजधानी भएकाले यस जिल्लालाई हरेक हिसाबले नमूना बनाउन म उत्कृष्ट प्रयास गर्नेछु । हामी नागरिकका प्रहरी हौं भन्ने अनुभूति प्रत्येक जनतालाई हुने वातावरण बनाइनेछ ।’
बढ्दो सवारी दुर्घटना, लागूऔषध दुर्व्यसन र जघन्य अपराध नियन्त्रण आफ्नो पहिलो प्राथमिकता हुने उल्लेख गर्दै, उनले शान्ति सुरक्षाको सवालमा शून्य सहनशीलता अपनाइने र त्यसका लागि सबैको सहयोग अपेक्षित रहेको बताए ।
एसपी राणाको नेतृत्वमा कैलालीमा नयाँ ऊर्जा र विश्वाससहितको प्रहरी सेवा सञ्चालन हुने आशा गरिएको छ ।
