काठमाडौं । परस्त्रीसँगको सम्बन्धका कारण घर झगडा भएपछि काभ्रेको वीरदल गणमा कार्यरतमा कार्यरत एक सैनिक जवानले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
सुर्खेतको गुर्भाकोट नगरपालिका–५ घर भएका सैनिक जवान २९ वर्षीय दर्शन खत्रीले श्रीमती २६ वर्षीय प्रेमा वलीको हत्या गरेका हुन् । वलीको शव आइतबार भेरीगंगा नगरपालिका—१२, झिंगेनारा खोलाका भेटिएको थियो ।
रत्न राजमार्गको छिन्चु–सुब्बाकुना सडकखण्डको छिन्चु बजारदेखि झन्डै एक किलोमिटरको दूरीमा रहेको झिंगेनारा खोलाको पानीमा घोप्टो परेको अवस्थामा आइतबार बिहान वलीको शव फेला परेको थियो । घटना शनिबार बेलुकाको भए पनि जङ्गलको बीचमा पर्ने खोलामा शव भएकाले कसैले देखेनन् ।
आइतबार बिहान करिव १० बजे थाकल टिप्न गएका स्थानीयहरूले खोल्सामा शव देखेपछि छिन्चु प्रहरीलाई खबर गरेका थिए । लगत्तै घटनास्थल पुगेको प्रहरीले सुरुमा शवको पहिचान गर्न सकेन । घटनास्थलमा पुगेका आफन्तले साँझपख मात्रै शवको पहिचान गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार प्रारम्भिक चरणमै श्रीमान् दर्शन खत्री अनुशन्धानको केन्द्रमा परे । उनलाई प्रहरीले आईतबार नै नियन्त्रणमा लियो । केरकार गर्दा सुरुमा उनले इन्कारी बयान दिएका थिए ।
उनी निकै हतोत्साहित देखिन्थे । सोधीखोजी गर्दा विचलित हुने, आत्तिने, फरक–फरक जवाफ दिने गरेपछि उनलाई नियन्त्रणमा लिईएको थियो । त्यसपछि प्रेमाको हत्या आफैंले गरेको उनले प्रहरीसमक्ष बयान दिएका छन् ।
प्रहरीका अनुसार दर्शन र गुर्भाकोट–६, मेहलकुनाकी प्रेमाबिच ७ वर्षअघि प्रेम विवाह भएको थियो । २ वर्षपछि छोरी जन्मिइन् । त्यसपछि दर्शनको नेपाली सेनामा नाम निस्कियो र उनी काभ्रेको वीरदल गणमा कार्यरत भए ।
त्यसपछि उनको परस्त्रिसँग हिमचिम बढन थाल्यो । यो कुरा प्रेमाले थाहा पाइन् । घरपरिवार हुँदै यो कुरा प्रेमाको माइतीसम्म पुग्यो । श्रीमान–श्रीमतीबिच अविश्वास बढ्न थाल्यो । यही विषयले विगत ५ वर्षदेखि दुई जनाको झैझगडा र कुटपिटसमेत हुन थाल्यो ।
त्यसैले प्रेमा छोरीसहित माइतीघर बस्न थालिन । यता, दर्शनले पनि प्रेमाको अन्य पुरुषसँग रहेको आशंका गरेका थिए । पछिल्लो समय उनले अर्कै केटाका फोटो मोवाईलमा राखेको देखेपछि दर्शन पनि आक्रोशित थिए ।
यही कारणले उनले प्रेमाको हत्या गर्ने योजना वनाई बिदा लिएर शनिबार साँझ मात्रै छिन्चु पुगेका थिए । उनलाई छिन्चु बजारसम्म लिन आउन पनि भने । प्रेमाले छोरीलाई घरमा छोडेर श्रीमानले साथीसँग सामान पठाएको र लिन छिन्चु जान लागेको जानकारी गराएर श्रीमानलाई लिन हिडिन ।
छिन्चु बजारमा उनीहरुको भेट भयो । सुरुमा राम्रै कुरा भए पनि बिस्तारै झगडा हुन थाल्यो । झगडा गर्दै–गर्दै उनीहरू झिंगेनारा जङ्गलमा पुगे । त्यहाँ दुवैले एकअर्काको मोबाइल चेक गर्न थाले । त्यहीक्रममा बेलुका करिव ७ बजे रिसको आवेगमा आएर खत्रीले प्रेमाको टाउकोमा ढुङ्गाले प्रहार गरे । ढुङ्गाको चोटले प्रेमा ढलेपछि उनकै सलले घाँटीमा कसेर हत्या गरे ।
त्यसपछि राति ८ बजे खत्री घटनास्थलबाट गुर्भाकोट घर गएको प्रहरीले जनाएको छ । दुवै जनाले एक अर्कामाथि गर्ने शंकाले घटना भएको प्रहरीको ठहर छ । प्रेमाले श्रीमानलाई अर्कै केटीसँग लागेको भनिरहने र श्रीमानले पनि प्रेमामाथि शंका गर्दा घट्ना भएको डीएसपी बुढथापाको भनाई छ।
प्रहरीले दर्शनलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।
