काठमाडौं । दार्चुलाको लेकम गाउँपालिकाका शिक्षा अधिकृत ३८ वर्षीय केशवराज ओझाको मृत्यु भएको छ । भिर माथिबाट खसेको ढुंगाले लागेर उनको मृत्यु भएको हो ।
सोमबार लेकम गाउँपालिका–४ ओदालीमा भिरबाट खसेको ढुंगाले लागेर उनको मृत्यु भएको दार्चुला प्रहरीले जनाएको छ ।
लेकम गाउँपालिकाका प्रवक्ता सुरेशसिंह थापाका अनुसार वडा नम्बर ५ स्थित चौपातामा सोमबार शैक्षिक कार्यक्रम थियो । सामाजिक विकास कार्यालयले आयोजनाको गरेको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा ओझा सवार मोटरसाइकलमाथि ढुंगा बज्रिएको थियो ।
ओदालीमा जेसिबीको प्रयोग गरेर सडक कटिङ्गको काम भइरहेको छ । मोटरसाइकल चलाइरहेका शिक्षा अधिकृत ओझामाथि ढुंगा बज्रिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि चौपाता हुँदै गोकुलेश्वर अस्पतालमा पु¥याइएको थियो । उपचारका क्रममा उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
