काठमाडौं । नेपाल प्रहरीमा पहिलोपटक लिडरसिप एन्ड स्टाफ कोर्स सुरु भएको छ । भृकुटीमण्डपस्थित पुलिस क्लबमा गृहमन्त्री रमेश लेखकले आइतबार बिहान पहिलो ब्याच सहभागी हुने कार्यक्रमको उद्घाटन गरेका हुन् ।
स्टाफ कलेजका लागि ३५ जनालाई सहभागी गराउने भनिए पनि प्रवेश परीक्षामा १७ जना डिएसपी मात्रै उत्तीर्ण भएका छन् । २०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएकाहरूको टोलीबाट कोर्सको सुरुवात गरिएको हो ।
प्रहरीमा पहिलोपटक सुरु भएको स्टाफ कोर्सले बढुवालाई व्यवस्थित बनाउने छ ।
अब स्टाफ कोर्स अध्ययन गर्नेहरूले तीन सेमेस्टरमा परीक्षा दिनुपर्नेछ । कुनै सेमेस्टरमा अनुत्तीर्ण भए जुन परीक्षामा भएको हो, त्यो सेमेस्टरको परीक्षा पुनः अर्को वर्ष दिन पाइनेछ ।
प्रस्तावित विधेयक संसद्बाट पारित भएर कार्यान्वयनमा आए स्टाफ कलेज पास नगर्नेहरू प्रहरी नायब महानिरीक्षक (डीआईजी) बन्न पाउने छैनन् । एसपी र एसएसपीमा पनि स्टाफ कलेज गरेका र नगरेकाकाका लागि छुट्टै कोटा तोकिएका छन् ।
स्टाफ कलेज गरेका ६० प्रतिशत र नगरेका ४० प्रतिशत डीएसपी एसपीमा बढुवा हुनेछन् । एसपीबाट एसएसपीमा बढुवा हुँदा स्टाफ कलेज नगर्नेका लागि २० प्रतिशत मात्रै कोटा हुनेछ ।
तर एसएसपीबाट डीआईजी बन्ने ढोका स्टाफ कलेज नगर्नेहरूका लागि बन्द हुनेछ ।
