काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्याले नेतृत्व सम्हालेको ३६ महिना पूरा भएको छ । सरकारले १८ वैशाख २०७९ सालमा अर्याललाई चार वर्षका लागि आईजीपीमा नियुक्त गरेको थियो । अझै उनको कार्यकाल एक वर्ष बाँकी छ ।
संगठनमा महानिरीक्षक अर्याल अत्यन्त शालीन र शान्त स्वभावको रुपमा चिनिन्छन् । उनको ३६ महिने नेतृत्व विभिन्न सुरक्षा चुनौतीको परिस्थितिमा समेत अब्बल रहेको विश्लेषण गरिएको छ । नेतृत्व सम्हालेको शुरुवाती दिनमा संगठनभित्रको आन्तरिक व्यवस्थापनमा उनको समय बित्यो ।
सरुवा तथा बढुवाका कारण संगठनका तल्लो तहदेखि उपल्लो तहसम्मका कर्मचारीमा बढेको निराशालाई समाधान गर्न क्रियाशील रहेकै कारण ३६ महिनाको बीचमा दर्जनौं पटक बढुवा गर्ने काम भई समस्या समाधान भएको छ भने आवश्यकताअनुसार सरुवा पनि समयमै भएका छन् ।
यसले गर्दा कर्मचारीमा रहेको निराशा हटेको छ । सरुवा–बढुवामा अपनाइएको पारदर्शिताका कारण पनि कर्मचारीको संगठन प्रमुखमाथिको भरोसा बढ्दै गएको थियो, छ ।
संगठनका आन्तरिक समस्या समाधान गर्न प्रत्येक दर्जाका कर्मचारीले सहज ढंगले आफ्ना पीर–मर्का तथा गुनासा राख्न सक्ने वातावरण बन्दै गएको समेत संगठनमा प्राप्त गुनासो र त्यसलाई समाधान गर्न संगठन प्रमुखले देखाएको चासोले स्पष्ट पारेको छ ।
यसबीचमा महानिरीक्षक अर्यालले मातहत कर्मचारीको संरक्षणप्रति देखाएको माया, चासो अनि मातहत कर्मचारीको वृत्ति विकास, स्वास्थ्यप्रतिको चिन्ता आदि हेर्दा उनी अभिभावकीय जिम्मेवारीमा खरो उत्रिएको आभास हुन्छ ।
केही समयअगाडि यस पंक्तिकारसँगको भेटमा सशस्त्र प्रहरीका एक उच्च अधिकृतले भनेका थिए, ‘आईजीपी साबलाई कहिल्यै रिसाएको अथवा मातहतलाई हप्काएर काम लगाएको देखेको छैन, र पनि संगठनले चुस्त गति लिएको छ । यो उहाँको भद्र र नम्र स्वभावको परिणाम हो ।’
‘सधैँ हसिलो मुद्रामा देखा पर्ने महानिरीक्षक अर्याल सकेसम्म भेट्न चाहने तल्लो दर्जाका कर्मचारीलाई पनि नाइँ भन्नुहुन्न । समस्या लिएर आएका कर्मचारीको गुनासो धैर्यपूर्वक सुन्ने र मीठो बोलीमा कुरा गर्ने गर्नुहुन्छ अनि आवश्यक कार्यान्वयका लागि के गर्दा उचित हुन्छ तत्काल निर्णय गर्नुहुन्छ र आदेश दिनुहुन्छ । गुनासो गर्न आएका कर्मचारी खुसी मुद्रामा फर्कन्छन्,’ ती अधिकृतको भनाइ थियो ।
केही समयअघि वर्षात्को समयमा एक निर्देशनमा आईजीपी अर्यालले भनेका थिए– ‘सीमामा खटिएका कर्मचारीको पाल हावाले उडाउँछ, तपाईँहरुको बसाइ कष्टपूर्ण छ, त्यसैले म राम्रोसँग निदाउन सकेको छैन, कसरी त्यो समस्या हल गर्ने भन्ने सोच्ने र कार्यान्वयन गर्ने भन्ने विषयमा नै मध्यरात हुने गर्छ ।’ तर, अहिले त्यस्ता बसाईहरु केही हदसम्म कम हुँदै गएको छ ।
उनले यी भनाइलाई प्रमाणित गर्दै फिल्डमा हुने सामान्य समस्यामा समेत तत्काल आफैं बुझ्न मध्यरातमा भए पनि फोन गरेर वास्तविकता बुझ्ने काम समेत गर्ने गरेको उनको सचिवालयमा कार्यरत एक अधिकृतले बताए । ‘फिल्डमा खटिएका कर्मचारीको मनोबल उच्च राख्न हौसला दिनुहुन्छ । त्यसो त सशस्त्र प्रहरीले सीमामा खटिएर गरेको कार्य अब्बल रह्यो,’ ती अधिकृत बताउँछन् ।
यो बीचमा दैनिक १८ घन्टाभन्दा बढी ड्युटीमा खटिएका मातहत कर्मचारीको प्रत्यक्ष पीर–मर्का बुझ्न महानिरीक्षक अर्याल पटक–पटक आफैं सीमाका अस्थायी छाप्रासम्म पुगेर जवानसँगै खाना खाने र उनीहरुको हौसला वृद्धि गर्ने कार्यमा समेत लागे । जुनकुरा सार्वजनिक भएको भिडिओ फोटोहरुले प्रष्ट पारेको थियो ।
यसबीचमा संगठन सुधारका लागि थुप्रै नीतिगत निर्णयहरु गरी संगठनमा कार्यरत कर्मचारीहरुमा अनुशासन, इमानदारिता, व्यावसायिकताको विकास गराई संस्कारी फौजको स्थापना गर्नुपर्दछ र हामी सबै एक परिवार भएर सबै तह–तप्काले आफू मातहतको लागि अभिभावक भएर बस्नुपर्दछ भन्ने सन्देश एवं भावना महानिरीक्षक अर्यालका प्रत्येकजसो विभागीय निर्देशनहरुमा आउने गर्दछ ।
महानिरीक्षक अर्यालकै कार्यकालमा कल्याणकारी कार्यअन्तर्गत दर्जनौं काम भएका छन् ।
यसैगरी गुणस्तरीय राशन, आन्तरिक अनुशासन, कर्मचारीको वृत्ति विकास, गुनासो तथा पीर–मर्का सुनुवाइको सहज वातावरण तथा तल्लो स्तरका कर्मचारीको पोशाक एवं अन्य पक्षमा समेत संगठन प्रमुखले प्रत्यक्ष चासो लिएर भ्रष्टाचारमा शून्य सहनशीलता, मानवअधिकारको संवद्र्धन र संरक्षण, लैंगिक मैत्री वातावरणको नीतिलाई कार्यान्वयन गराउँदै खराब आचरणमुक्त संगठन बनाउन गरिएको कार्यले महानिरीक्षक अर्यालका बितेका तीन वर्ष सफल रहे ।
अर्यालले लिएको चासो, उचित समयमा गरिएका सही निर्णय अनि उहाँको रातदिनको खटाइले आमजनताको सशस्त्र प्रहरीप्रतिको भरोसा अनि विषम अवस्थामा संगठनले पूरा गरेको जिम्मेवारी र कर्तव्यले शालीन स्वभावका आईजीपीले विषम परिस्थितिमा गरेको इमानदार, अनुशासित एवं व्यावसायिक नेतृत्वको रुपमा लिनुपर्ने हुन्छ ।
