काठमाडौं । तपाई हाम्रा लागि २४सैं घण्टा सुरक्षामा खटिने प्रहरीको रासन भत्ता कति होला ? सुन्दा अचम्म लाग्न सक्छ, एक दिन अर्थात चार छाकका लागि २ सय १ रुपैयाँ मात्रै रहेछ ।
प्रहरीले पाउने रासन भत्ता प्रहरीका लागि सहयोगी कुकुरकोभन्दा पनि कम हो । प्रहरीको सहयोगका लागि खटिने कुकुरले प्रत्येक दिन ४ सय ४२ रुपैयाँ पाउँछ । त्यतिमात्र नभएर नेपाल प्रहरीले भन्दा सशस्त्र प्रहरीले पनि रासन भत्ता बढी खान्छन् ।
प्रहरीका कर्मचारीको रासन भत्ता रकम सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने दररेट निर्धारण समितिले मूल्यांकन गरेर तोक्ने व्यवस्था छ ।
जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लाका सरोकारवाला निकायको सल्लाहमा मूल्यवृद्धिलाई ख्याल गरेर रासन भत्ता तोक्ने प्रावधान भएपनि त्यसो पाउँदैनन् ।
तर, प्रहरीलाई केन्द्रले तोकेरै रासन भत्ता दिने गरेको छ । त्यसैले तीन प्रमुख सुरक्षा निकायका कर्मचारीले पाउने रासन भत्ता नै फरक–फरक छन् । विशेष गरी नेपाल प्रहरीको कम रहेको छ ।
उपत्यकासहित सातै प्रदेशमा नेपाल प्रहरीका कर्मचारीभन्दा सशस्त्र प्रहरीकै कर्मचारीले बढी रासन भत्ता पाउने गरेका छन् । जस्तै, उपत्यकामा सशस्त्र प्रहरीका लागि २ सय ३ रुपैयाँ दैनिक भत्ता तोकिएको छ भने नेपाल प्रहरीले २ सय १ रुपैयाँ पाउँछन् ।
यस्तै कास्कीमा सशस्त्र प्रहरीले २ सय २३ रुपैयाँ १० पैसा रासन बराबरको रकम पाउँछन् भने नेपाल प्रहरीले २३ रुपैयाँ कम गरेर २ सय रुपैयाँ १० पैसा पाउँछ ।
त्यस्तै अछाममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनमा ८५.१० रुपैयाँ फरक पर्छ । अछाममा नेपाल प्रहरीको एक दिनको रासन रेट २५८.७५ रुपैयाँ छ भने सशस्त्र प्रहरीले ३४३.८५ रुपैयाँ पाउँछन् ।
उता सर्लाहीमा काम गर्ने नेपाल प्रहरीले रासनबापत दैनिक १९२.०५ रुपैयाँ बुझ्दा सशस्त्र प्रहरीले २७१.४० बुझ्छन् । हिमाली जिल्ला संखुवासभा र ताप्लेजुङमा काम गर्ने नेपाल प्रहरीले दैनिक २६७.९५ रुपैयाँ पाउँछन् । तर, त्यहाँ सशस्त्र प्रहरीले ३४७.३० प्राप्त गर्छन् ।
नेपाल प्रहरीको रासनमा यसअघि २०७८ साउन १ गतेबाट लागू हुने गरी १५ प्रतिशत वृद्धि भएको थियो । त्यसपछि रासन बढेको छैन । समयानुकुल ढंगले हेर्ने हो भने प्रहरीले पाउँदै आएको रासन बराबरको रकम कम देखिन्छ ।
२०७९ सालअघि त यो भत्ता १६७ रुपैयाँ मात्र थियो । सशस्त्र प्रहरी कर्मचारीको रासनबापतको भत्ता रकम जिल्लापच्छे फरक–फरक छ । त्यसमा सुगम र दुर्गमको भत्ता फरक–फरक हुन्छ ।
काठमाडौं उपत्यकामा मासिक पाँच हजारदेखि ६ हजार रुपैयाँ रासन भत्ता छ भने हुम्ला जुम्ला जस्ता विकट जिल्लामा मासिक १० हजार छ ।
