काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाहरूको सक्रियता र जनसमर्थनले पार्टीको जित सुनिश्चित भएको दाबी गरेका छन् ।
काठमाडौंको फर्पिङस्थित दक्षिणकाली नगर समितिद्वारा आयोजित चौथो नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले २०६४ सालको निर्वाचन सम्झँदै अहिले पनि त्यस्तै उत्साह देखिएको बताए ।
उनले भने, ‘कार्यक्रममा महिलाहरूको उल्लेखनीय उपस्थिति र उत्साह देख्दा मलाई चुनाव जित्ने विश्वास मिल्यो । २०६४ सालमा पनि जब महिलाहरूको समर्थन प्राप्त भयो, तब हामीले ठुलो जीत हासिल गरेका थियौँ । महिलाहरूले परिवारै कन्ट्रोल गरेपछि हामी चुनाव जित्यौँ । अहिले पनि त्यस्तै लक्षण देखिँदैछ ।’
प्रचण्डले कार्यक्रममा महिलाहरूबाट खादा ओढाइने, हात मिलाउने जस्ता अभिवादनले आफू निकै उत्साहित भएको बताए । उनले काठमाडौं १० क्षेत्रबाट विगतमा जितेको स्मरण गर्दै अहिले पनि त्यस्तै परिस्थितिहरू विकसित भइरहेको उल्लेख गरे ।
पछिल्लो कार्यकालमा नेतृत्व गरेको सरकारले ऐतिहासिक काम गरेको दाबी गर्दै प्रचण्डले केही विगतका गल्तीहरू स्वीकारे । ‘हामी समीक्षा गर्दै जनतामाझ गइरहेका छौं,’ उनले भने, ‘तराई–मधेशमा यसपटक मलाई असाधारण अभिनन्दन प्राप्त भएको छ ।’
