काठमाडौं । दिपक थापा प्रहरी महानिरीक्षक (नियुक्त) भएपछि थुप्रै सरुवा/बढुवा भयो । आईजीपी भएको दुई दिनपछि अर्थात ६ चैतमा थापाले पहिलोपटक ७२ जना प्राविधिक प्रहरी सहायक निरीक्षक (असई)हरुको बढुवा तथा पदस्थापना गरे । जुन बढुवा संगठनमा लामो समयदेखि रोकिएको थियो ।
सोहीदिन आईजीपी थापाले १२५ जना प्राविधिक असईहरुको सरुवा समेत गरे । जुन सरुवा नियमित थियो तर, केही समययता रोकिएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । त्यसको १४, १५ दिनसम्म देशमा अप्रिय घटनाहरु हुन पुगेकाले आईजीपी थापाले सरुवा/बढुवातिर त्यति चासो दिन खोजेनन् ।
त्यसपछि आईजीपी थापाले चैत २१ गते प्राविधिक प्रहरी समूहतर्फका एकजना असईलाई प्रहरी नायब निरीक्षक (सई) र एकजना प्रहरी बरिष्ठ हवल्दारलाई असईमा बढुवा गरे । त्यस्तै सोहीदन प्राविधिकतर्फका नै ७९ जना प्रहरी हवल्दारको बरिष्ठ हवल्दारमा बढुवा भयो ।
यस्तै २५ चैतमा प्राविधिक प्रहरी समूह अन्तर्गत सञ्चारतर्फ, संगीतर्फ, कम्प्युटरतर्फ, सवारीतर्फ, विज्ञानतर्फ, केनाइनतर्फ, हातहतियारतर्फ, स्वास्थ्य प्यारामेडिक्सतर्फ र स्वास्थ्य अन्यतर्फका १४४ जना प्रहरी सहायक हवल्दारको प्रहरी हवल्दारमा बढुवा भयो । त्यस्तै ४ जना प्रहरी हवल्दार समेत प्रहरी बरिष्ठ हवल्दारमा बढुवा भए ।
त्यसको भोलिपल्ट प्राविधिक प्रहरी समूह अन्तर्गतकै मेकानिकल इन्जिनियरतर्फका ३ जनालाई प्रहरी बरिष्ठ हवल्दारमा बढुवा गरियो । त्यसैगरी सञ्चारतर्फका ७३ जना प्रहरी जवानलाई सहायक हवल्दारमा बढुवा गरिएको छ । स्वास्थ्य प्यारामेडिक्सतर्फका ४ जना, स्वास्थ्य उपसमूह अन्यतर्फका १ जनालाई समेत सहायक हवल्दार पदमा बढुवा गरिएको थियो ।
यसैगरी चैत २८ गते प्रहरी नायब निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी बरिष्ठ हवल्दारहरु ८१ जनाको बढुवा निस्कियो । सोहीदन ५२ जना प्रहरी बरिष्ठ हवल्दारहरुको सरुवा समेत भयो ।
त्यसपछि चैत ३१ गते जनपथ समूहतर्फका ६१ जना प्रहरी बरिष्ठ नायब निरीक्षकहरु प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा बढुवा भए । जुन बढुवाको चौतर्फी प्रशंसा समेत भएको थियो । लामो समयदेखि नेताहरुको पिएसोका कारण रोकिएको बढुवा थापाले विवादरहित ढंगले निकालेका थिए ।
यस्तै २०८१ वैशाख ३ गते प्राविधि प्रहरी समूहतर्फका विभिन्न उपसमूहतर्फ बढुवा भएका ८५ जना प्रहरी सहायक निरीक्षक, प्रहरी बरिष्ठ हवल्दार र प्रहरी सहायक हवल्दारहरुको बढुवा तथा पदस्थापना भयो । त्यस्तै सोहीदिन प्राविधिक प्रहरी समूहतर्फको विभिन्न उपसमूहतर्फका १४४ जना प्रहरी हवल्दारहरुको बढुवा तथा पदस्थापना भएको थियो । त्यसैगरी सोहीदन १७८ जना प्राविधिक हवल्दारहरुको सरुवा भएको थियो ।
त्यतिमात्र नभएर सोहीदन जनपथ प्रहरी समूहतर्फका ७५ जना सईलाई बरिष्ठ सईमा बढुवा गरिएको थियो । त्यसको भोलिपल्टै धेरैको चासो प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिस पनि निस्कियो । ६ नायब महानिरीक्षक (डिआईजी)लाई बरियताअनुसार एआईजीमा बढुवा सिफारिस गर्दा आईजीपी थापाको झनै चर्चा भयो ।
त्यस्तै ७ वैशाखमा ७७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को अन्तिम नतिजा प्रकाशन भयो । उनीहरुलाई आईजीपी थापाले हिजो अर्थात शुक्रबार मात्रै दरज्यानी चिन्हबाट शुसोभित गरिसकेका छन् ।
त्यस्तै १० वैशाखमा ६१ जना इन्स्पेक्टरहरुको पदस्थापना तथा र ३११ जनाको सरुवा तथा काज भयो । त्यतिमात्र नभएर सोहीदिन १२१ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)हरुको समेत सरुवा/काज निस्कियो । जुन इन्स्पेक्टर र डिएसपीको सरुवा हस्तक्षेपमुक्त थियो ।
त्यसको भोलिपल्ट ११ वैशाखमा आईजीपी थापाले लामो जनपथतर्फ ७५ जना सईलाई बरिष्ठ सईमा बढुवा गरे । बरियताअनुसार बढुवा गर्दा उक्त सरुवा समेत विवादमा आएन । त्यसको भोलिपल्ट फेरी आईजीपी थापाले २०८ जना असईलाई सईमा बढुवा गरे ।
त्यसैगरी लामो समयदेखि रोकिएको प्रहरी उपरीक्षक (एसपी) सरुवा समेत थापाले आफ्नो कार्यकालमा निकाले । १५ वैशाखमा ६३ जना एसपीको सरुवा भयो । समग्रमा उक्त सरुवा ठिकै भएपनि एकजना एसपीका कारण विवादिन बन्यो । यस्तै सोहीदन ४ जना प्राविधिक सई र ५ जना इन्स्पेक्टरहरुको समेत सरुवा भएको थियो ।
त्यतिमात्र नभएर उक्तदिन प्राविधिक प्रहरी समूहतर्फका एसपी योग बहादुर पाललाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा समेत गरिएको थियो । त्यस्तै ४ वैशाखमा एआईजी बढुवामा सिफारिस भएका ६ जनाको सरकारले १६ गते बढुवा गर्ने निर्णय गर्यो । सोहीदन आईजीपी थापाले उनीहरुको पदस्थापना समेत गरे ।
त्यस्तै इन्स्पेक्टरमा नियुक्ति पाएका ७७ जनाको १९ वैशाखमा पदस्थापना समेत भयो । यसरी आईजीपी थापाले प्रहरी नेतृत्वको कमाण्ड सम्हालेको छोटो समयमा थुप्रै सरुवा/बढुवा भएका छन् । तर, समग्रमा उनको सरुवा/बढुवा राजनीतिक हस्तक्षेपमुक्त ठानिएको छ ।
यसअघि प्रहरी प्रधान कार्यालय वा गृह मन्त्रालयले गर्ने निर्णयमा कोही न कोहीले असन्तुष्टि जनाउने गरेका थिए । तर, थापा आईजीपी भएपछि भएको सरुवा/बढुवामा कसैले असन्तुष्टि नजनाएपछि संगठन प्रमुखको प्रशंसा भएको छ ।
तर, विवादरहित हुनुमा आईजीपी थापाले आफ्नो ब्याचमेट अर्थात एआईजीहरुलाई समेत अगाडि राखेर निर्णय गर्नु अर्को कारण हो ।
एआईजी बढुवाको लागि आईजीपी थापाले आफ्ना सहकर्मीद्धय सुदिप गिरी र टेक तामाङलाई अगाडि राखेर सल्लाह गरी निर्णय गरेका थिए । त्यसैले एआईजी बढुवा विवादित बन्न नपुगेको प्रहरी प्रधान कार्यालयमा कार्यरत एक सिनियर प्रहरी अधिकृत बताउँछन् ।
एआईजी बढुवामा मात्र होइन आईजीपी थापाले सबै निर्णयहरुमा सहकर्मी एआईजीहरुलाई अनिवार्य बोलाएर, उनीहरुको सल्लाह र सुझाव लिएर निर्णय गर्ने गरेका छन् । गृहमा कुनै प्रस्ताव लैजानु परेमा पनि उनीहरु एक ढिक्का भएर लैजाने गरेका छन् ।
प्रहरी नेतृत्वको जिम्मेवारी सम्हाल्दै थापाले आफ्ना सबै ब्याजीहरुलाई मिलाएर सामूहिक निर्णय गरी अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । सोहीअनुरुप आईजीपी थापा कुनैपनि निर्णय गर्नुअघि आफ्ना ब्याचीहरुसँग छलफलमा जुट्नेछन् ।
बढुवामा समेत आईजीपी थापाले अडान लिएका कारण वरियताक्रममा रहेका प्रहरी अधिकृतहरुले अवसर पाएका छन् ।
आईजीपी थापाले सरुवा/बढुवामा कसैलाई असर नपर्ने गरी काम गर्ने पनि बताएका छन् । कार्यसम्पादन मुल्यांकन अनुसार प्रहरी कर्मचारीको सरुवा र बढुवा गरिने भन्दै आईजीपी थापाले नेताका घरदैलो नपुग्न मातहतका निकाय प्रहरी अधिकारीलाई निर्देशन दिएका छन् ।
प्रहरीभित्र उनले सिस्टम बसाल्ने आईजीपीको छवि बनाएका छन् । २०८१ चैत ४ गतेदेखि नेपाल प्रहरीको नेतृत्व सम्हालेका थापाले आफ्नो २ महिने कार्यकालमा समेत उल्लेखनिय काम गरी अभिभावकिय जिम्मेवारी वहन गरेका छन् ।
जतिबेला थापाको प्रतिस्पर्धामा एआईजीहरु तामाङ र गिरी थिए । तर, उनीहरु सबै अहिले आईजीपी थापालाई सफल बनाउन लागिपरेका छन् । थापालाई सरकारले आईजीपी नियुक्त गरेपछि उनले पूर्वप्रहरी प्रमुख बनेका सबैसँग भेटेर सल्लाह सुझाव लिने गरेका छन् ।
