काठमाडौं । परोपकारस्थित पुलमुनी एक जना पुरूषको हत्या भएको छ । काभ्रेको भुम्लु गाउँपालिका-१० का ४२ वर्षीय माइला भन्ने विक्रम तामाङको हत्या भएको प्रहरीले जनाएको छ ।
वैशाख १६ गते बिहान साढे ११ बजेतिर धारिलो हतियार प्रहारबाट घाइते अवस्थामा फेला परेका तामाङलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं लगिएकोमा उनको साढे १२ बजे मृत्यु भएको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीका अनुसार विक्रमको हत्या आरोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी-७ घर भई डल्लु बस्ने ३२ वर्षीय आशिष श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ ।
प्रहरीले घटनामा प्रयोग भएका कपडा, चक्कु र एउटा मोबाइल बरामद गरेको छ । श्रेष्ठमाथि ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढेको छ ।
एसपी जिसीका अनुसार गाली गलौज गरेको निहुँलाई लिएर उनीहरूबीच झडप भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । पक्राउ परेका युवकले पिसाब गर्दा गाली गरेका कारण हत्या गरेको बयान दिएका छन् ।
‘पुलमुनी पिसाब गर्दा गाली गरिरहन्थ्यो। त्यसदिन भेटेर हान्दिएँ । हानेर म भागेँ,’ उनले प्रहरीलाई बयानमा भनेका छन् ।
