काठमाडौं । सिरहामा मोटरसाइकलले छोएको निहुँमा विवाद हुँदा एक युवकमाथि खुकुरी प्रहार भएको छ । सिरहाको लहान नगरपालिका-३ दंग्राहा टोलका २७ वर्षीय देवकुमार महतोमाथि खुकुरी प्रहार भएको हो ।
महतोमाथि खुकुरी प्रहार हुँदा टाउको, घाँटी र ढाडमा चोट लागेको छ । उनी अहिले लहानस्थित प्रादेशिक अस्पतालमा उपचाररत छन् । अस्पतालले उनको अवस्था सामान्य रहेको जनाएको छ ।
सिरहा प्रहरी प्रवक्ता डीएसपी विरेन्द्रकुमार पासवानका अनुसार, घटनामा संलग्न रहेका ६२ वर्षीय जिवछ महतो, उनकी ६० वर्षीया श्रीमती सीतादेवी महतो र २१ वर्षीय छोरा मनिष महतोलाई नियन्त्रणमा लिइएको छ ।
खुकुरी प्रहार गरेका मुख्य अभियुक्त, जिवछका १९ वर्षीय छोरा मुकेश महतो भने फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।
प्रहरीका अनुसार मुकेशका दाजु मनिषले चलाएको मोटरसाइकलले देवकुमारलाई ठक्कर दिएपछि विवाद सुरु भएको थियो । त्यसक्रममा जिवछ महतोको परिवारका सदस्यहरूले मिलेर देवकुमारलाई कुटपिट गरेका थिए ।
प्रहरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
